२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विद्यार्थीलाई सेनाको ‘एनसिसी’ तालिम

Nada
कृष्ण तिवारी
२०८३ असार १ गते २०:३२
Shares
विद्यार्थीलाई सेनाको ‘एनसिसी’ तालिम

रौतहट : रौतहटको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि जुनियर एनसिसी तालिम सुरु गरिएको छ । नेपाली सेनाको नेतृत्वमा संचालन गरिएको तालिममा मौलापुर नगरपालिका –१ मर्यादपुरमा रहेको श्री माध्यमिक विद्यालय मर्यादपुर ३० जना विद्यार्थी सहभागी छन् ।

ncell

नेपाली सेना नारायण दल पुरेनवाले तालिम सञ्चालनमा ल्याइएको हो । नारायण दल गणका सेनानी मनोज जिसिले १५ छात्र र १५ छात्रा गरी कुल ३० जना छनोट गरेपछि उनीहरूलाई सय दिने तालिम दिन थालिएको बताए । उनले भने, ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श बोकेको (एनसिसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न तालिम दिइने गरिन्छ ।’ 

तालिम विशेष गरी सैद्धान्तिक र व्यवहारिक ज्ञान दिन पाठ्यक्रमद्वारा निर्देशित गरिएको छ । विद्यार्थीको आत्मविश्वास बढाउन, राष्ट्रप्रेम भाव जागृत गर्न तथा नेतृत्व क्षमता बढाउन तालिमले सहयोग पुर्‍याउने सेनानी मनोज जिसिले उल्लेख गरे । एनसिसीको तालिम पूरा गर्न केही अप्ठ्यारो भए पनि अन्ततः त्यसले व्यक्ति, समाज र देशलाई असल बनाउने विश्वास उनको छ ।

तालिमका लागि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीबाट छनोट गरिएको थियो । यो वर्ष भने ग्रामीण भेगका एक विद्यालयका विद्यार्थीलाई तालिमको अवसर दिने गरी विद्यालय छनोट गरिएको नारायण दल गणले जनाएको छ । तालिमको पहिलो दिन तालीमको उद्घाटन गर्दै मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले तालिम लिएपछि भविष्यमा सेना प्रहरी लगायतका सुरक्षा फौजको छनौटका लागि प्राथमिकतामा परिने यसले पनि एनसिसी तालिमप्रति विद्यार्थीहरुको आकर्षण बढ्दो छ । पछिल्लो समय तालिममा जान विद्यार्थीहरु स्वतःस्फूर्त अग्रसर हुन थालेका बताइन् ।

श्री माध्यमिक विद्यालय मर्यादपुरका प्रधानाध्यापक दिनदयाल साहले एनसिसी तालिमले विद्यार्थीलाई अनुशासित र सिर्जनशील बनाउन सहयोग गर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुराय यादवले तालिमले अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउने विश्वास व्यक्त गरे । सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २०८३ असार १ गतेबाट उक्त तालिम सुरु गरेको हो ।

सम्बन्धित खबर