
काठमाडौँ : ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले छतबाट हाम फालेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-२२ घर भई प्लस टुमा अध्ययनरत १८ वर्षीय आर्यन सिंह रहेका छन् ।
उनले सोमबार बिहान कलेज भवनको छतबाट हाम फालेका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुमेरू सिटी अस्पताल लगिए पनि दिउँसो चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
‘यो हिजोको घटना हो । उनलाई तत्काल अस्पताल लगेर उपचार गरिएको थियो । पछि बेलुकीपख चिकित्सकले मृत घोषणा गरेको जानकारी आएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ,’ एसएसपी कार्कीले भने ।
घटनाका सम्बन्धमा डीएभी कलेजको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । कलेजको वेबसाइटमा उल्लेख गरिएको सम्पर्क नम्बरमा समेत पटक- पटक फोन गर्दा फोन लागेन । प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ ।