
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको आयोजना स्थल परिवर्तन गरेको छ । पार्टीले महाधिवेशन अब भरतपुरस्थित चितवन उद्योग संघ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र मा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
यसअघि महाधिवेशन चितवनको रत्ननगर नगरपालिका क्षेत्रअन्तर्गत टाँडीस्थित होटेल स्टारमा गर्ने तयारी गरिएको थियो । पछिल्लो निर्णयसँगै कार्यक्रमको मुख्य स्थल परिवर्तन गरिएको हो ।
पार्टीका केन्द्रीय सदस्य राजन गौतमका अनुसार असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा सहभागी प्रतिनिधि तथा अतिथिका लागि सौराहा, रत्ननगर र भरतपुरका विभिन्न होटलमा आवास व्यवस्थापनको तयारी गरिएको छ ।
महाधिवेशनको व्यवस्थापन तथा समन्वयका लागि पार्टीका स्थानीय, जिल्ला र नगर तहका संरचना, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको सहभागितामा काम अघि बढाइएको जनाइएको छ । तयारीलाई व्यवस्थित बनाउन १८ वटा उपसमिति गठन गरी विभिन्न जिम्मेवारी बाँडफाँट गरिएको गौतमले जानकारी दिएका छन् ।