
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहितका कर्मचारी र निर्माण व्यवसायीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ठुलीगाड र कापदीगाडको बगर क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन सम्बन्धी ठेक्कामा राजस्व हिनामिना गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो ।
अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्द, उपाध्यक्ष इन्द्रा कुमारी बोहरा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक राज जैसी र लेखापाल युवराज भट्टविरुद्ध मुद्दा दायर गरेको हो ।
गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन अनुसार वार्षिक ३३ लाख ११ हजार ३४६ रुपैयाँ राजस्व संकलन गर्न सक्ने अवस्था हुँदाहुँदै बदनियतपूर्ण ढंगले ठेक्का अंक घटाएको आयोगको ठहर छ । प्रतिवेदनको बेवास्ता गर्दै कार्यपालिकाको बैठकबाट कुनै आधार बिना नै न्यूनतम ठेक्का अंक ७ लाख रुपैयाँ कायम गरी दरभाउपत्र आह्वान गरिएको थियो ।
प्रतिस्पर्धालाई सीमित पार्न राष्ट्रिय तथा प्रदेश स्तरको पत्रपत्रिकामा सूचना प्रकाशित नगरी कार्यालयको सूचना पाटीमा मात्र १५ दिने सूचना टाँसिएको र पछि फेरि अस्वाभाविक रूपमा अंक घटाएर ३ लाख र २ लाख कायम गरिएको अनुसन्धानबाट खुलेको छ । अन्तिममा भागिरथी निर्माण सेवा, धनगढीसँग आपसी मिलोमतोमा मासिक २ लाख ८ हजारका दरले ६ महिनाका लागि सम्झौता गरिएको थियो ।
आयोगका अनुसार सम्झौता बमोजिम उठ्नुपर्ने राजस्व र भ्याटसहित कुल १४ लाख १० हजार २४० रुपैयाँ राज्यकोषमा दाखिला नगरी सार्वजनिक सम्पत्ति हानी-नोक्सानी पुर्याइएको छ । सोही रकमलाई बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो ।
यसैगरी, गलत प्रतिवेदन र सिफारिस गर्ने तत्कालीन शिक्षा अधिकृत विवेक देउवा र सब-इन्जिनियर दान बहादुर पछेराविरुद्ध पनि मुद्दा दायर गरिएको छ । ठेक्का लिने भागिरथी निर्माण सेवाका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्ति केशव बहादुर बमलाई समेत मुख्य अभियुक्त सरहकै सजाय र बिगो असुल गर्न माग गरिएको छ ।