
काठमाडौँ : हाजिरी जमानीमा रिहा भएका सन्तोष साहले आफ्नो चरित्र हत्या भएको दाबी गरेका छन् । रिहा भएलगत्तै उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा साढे ४ लाख रुपैयाँका लागि साहको चरित्र हत्या र मानमर्दन भएको दावी गरेको हो ।
चेक अनादरको मुद्दामा उनी पक्राउ परेका थिए । उनलाई जनकपुरबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो । जेठ ३० मा पक्राउ परेका साहमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट ३ दिनको म्याद लिएको थियो । तर साहले तिर्नुपर्ने ४ लाख ५० हजार बिगो रकम पीडितको खातामा जम्मा गरेपछि उनलाई रिहा गरिएको हो ।
उनीविरुद्धको पुरानो बैंकिङ कसुर मुद्दा भने अदालतमा अझै प्रक्रियामै रहेको छ । काठमाडौंको गैरीधारामा रेस्टुरेन्ट किन्दा उनले शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको आरोप थियो । सोही आरोपमा थापाले २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन् ।
आर्जव होल्डिङ प्रालिलाई उनले दिएको २५ लाखको चेक नसाटिएको बैंकिङ कसुरको मुद्दा फैसला भएको र अदालतमा उपस्थित हुने म्याद बाँकी नै रहेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ ।
बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले बिगो भराएर १ महिना कैद सजाय हुने फैसला गरेको थियो । सो फैसला उपर पुनरावेदन पनि गर्न सकिने कानुनी व्यवस्था छ ।
नेपालमा रेस्टुरेन्ट व्यवसाय गर्नुअघि साह लन्डनमा बस्थे । उनले सन् २०२० मा बेलायतमा खानाका परिकारसम्बन्धी ‘बीबीसी मास्टरसेफ द प्रोफेसनल्स’मा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतिस्पर्धामा साह ‘सेकेन्ड रनरअप’ घोषित भए । साहको चर्चा त्यहीँबाट सुरु भएको हो ।
२०२० को उक्त प्रतिस्पर्धापछि उनी नेपाल फर्किए । र, ‘मिथिला थाली’ रेस्टुरेन्टको चेन सञ्चालनमा संलग्न भए । साहले ०८० जेठमा जनकपुर र ०८१ वैशाखमा ललितपुरको झम्सीखेलमा करोडौँ रुपैयाँको लगानीमा मिथिला थाली सञ्चालन गरे ।
के भन्छ सन्तोष साहको सचिवालय ?
शकुन्तला थापाले गैरीधारामा करिब पाँच करोड रुपैयाँ लगानीमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी थिइन् । कोरोना महामारीसँगै शकुन्तलाको रेस्टुरेन्ट घाटामा गयो । त्यसपछि साह र शकुन्तलाबीच रेस्टुरेन्ट खरिद–बिक्री गर्ने सहमति भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । सन्तोषले दुई करोड २५ लाख रुपैयाँमा शकुन्तलाको रेस्टुरेन्ट खरिद गर्ने सहमति गरे । शकुन्तलालाई सन्तोषले सुरुमा १५ लाख रुपैयाँ मात्र नगद दिए । र, तीन महिनामा साट्ने गरी २५ लाखको चेक दिए । चेक नसाटिएपछि त्यसबारे पटक–पटक सन्तोष र शकुन्तलाबीच छलफल भयो ।
प्रहरीका अनुसार, पटक–पटकको आग्रहपछि पनि २५ लाखको चेक नसाटिएपछि शकुन्तलाले ‘चेक बाउन्स’ गरिन् ।
सेफ सन्तोष पक्षले भने मिडियामा आएका समाचारलाई भ्रामक भनेको छ । सचिवालयद्वारा जारी विज्ञप्तिमा गैरीधारामा आर्जव होल्डिङ्स प्रालिले सिला नामक रेष्टुरेन्ट सञ्चालन गरेको उल्लेख छ । सञ्चालकले उक्त रेष्टुरेन्ट सञ्चालन गर्न नसकेको, बैंकको ऋण पनि तिर्न नसकेको र जग्गाधनीले समेत लामो समयदेखि पैसा तिर्न ताकेता गर्दै रेष्टुरेन्टमा ताला लगाएर भवन खाली गरिदिन आग्रह गरेको समयमा रेष्टुरेन्टसँग भएको सम्पूर्ण सम्पत्ति खरिद गरी सन्तोषले मिथिला थाली रेष्टुरेन्ट सुरु गरेका थिए ।
सिला रेष्टुरेन्टको सम्पत्ति लिए वापत मिथिला थाली र आर्जव होल्डिङ्सबीच दुई करोड २५ रुपैयाँमा सम्झौता भएको थियो । त्यसमध्ये आर्जव होल्डिङ्सले पहिले रेष्टुरेन्ट सञ्चालन गर्दाको अवधिको घरभाडा वक्यौतावापतको ४० लाख रुपैयाँ र सोही समयको विद्युत् महसुल वक्यौतावापतको दुई लाख ७७ हजार ९९७ रुपैयाँ मिथिला थालीले सम्बन्धित घरधनी र विद्युत् प्राधिकरणलाई आर्जव होल्डिङ्सका तर्फबाट भुक्तानी गरी सहजीकरण गरेको थियो ।
पछिल्लो पटक सञ्चारमाध्यममा चर्चा भएको २५ लाख रुपैयाँको कहानी भने अर्कै छ । आर्जव होल्डिङ्सले लिएको २५ लाख रुपैयाँको चेक एकमुष्ठ भुक्तानी नभइ कम्पनीका प्रतिनिधिले दिएका आर्जव होल्डिङ्सकै नबिल बैंकमा रहेको खातामा दुई वटा चेकमार्फत १७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा दुई वटा चेकमार्फत ६ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडमा चार वटा चेकमार्फत ५ लाख २५ हजार रुपैयाँ गरी भुक्तानी गर्नुपर्ने रकमभन्दा बढी कूल रु २८ लाख २५ हजार बैंकिङ प्रणालीमार्फत भुक्तानी भइसकेको छ ।
आर्जव होल्डिङ्सको प्रतिनिधि दाबी गर्दै सकुन्तला थापाले पटक पटक आफ्नो व्यक्तिगत खातामा भुक्तानी माग गरेको तर मिथिला थालीले सम्झौताअनुसार नै कम्पनीका नाममा भुक्तानी गर्दै आएको छ । अहिले उनी पक्राउको विषय भने पुरानो हिसाबका कारण नभई नयाँ चार लाख ५० हजार रुपैयाँका लागि हो । पुरानो हिसाबका लागि उनीहरू उच्च अदालत जाने तयारीमा थिए ।
‘सामान्य रकमका लागि फोन गरेर बोलाउन सकिनेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई जनकपुरसम्म पठाएर पक्राउ गर्नुले नियत प्रस्ट पार्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एक साताअघि मात्रै साह स्वयं भद्रकालीस्थित प्रहरी कार्यालय पुग्नुभएको थियो, तर त्यतिबेला पक्राउ नगरी अहिले फरार भनी प्रचार गरिनु दुःखद छ ।’ उच्च अदालतमा जाने हदम्याद रहँदै अकस्मात षडयन्त्रपूर्वक प्रहरीले आफूलाई हिरासतमा लिएको साहको भनाइ छ ।