२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

साउदी सीप सिन्डिकेटविरुद्ध व्यवसायी आन्दोलित

Nada
२०८३ असार ४ गते ०६:१५
Shares
साउदी सीप सिन्डिकेटविरुद्ध व्यवसायी आन्दोलित

काठमाडौं : वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जाने नेपाली कामदारको स्किल भेरिफिकेसन प्रोग्राम (एसभिपी) तत्कालका लागि स्थगित गरिएको छ । वैदेशिक रोजगार व्यवसायीहरूले साउदी अरेबिया जाने कामदारको सीप प्रमाणीकरण (स्किल सर्टिफिकेसन)मा सिन्डिकेट गरिएको भन्दै धापासीस्थित स्किल परीक्षण केन्द्र घेराउ गरेपछि केन्द्रले तत्कालका लागि उक्त स्किल भेरिफिकेसन रोकेको जनाएको छ ।

ncell

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा भएको घेराउ कार्यक्रममा व्यवसायीहरूले विपन्न अवस्थामा रहेका कामदारको आर्थिक शोषण गर्न नपाइने भन्दै नाराबाजी गरेका थिए । केही व्यवसायीले एकेडेमीको गेटमा रहेका प्रचार सामग्रीसमेत तोडफोड गरेका थिए ।

आक्रोशित व्यवसायीहरू एकेडेमी पुग्दा सञ्चालक कार्यालयमा नभेटिएपछि संघका प्रतिनिधिले बुधबारको सीप परीक्षण कार्यक्रम स्थगित गराई थप रणनीतिको तयारीका लागि सिफलस्थित संघ कार्यालयमा पुगेर छलफल गरेका थिए । संघले बिहीबार दिउँसो १ बजे नेपालस्थित साउदी अरेबियाको दूतावासले छलफलका लागि आमन्त्रण गरेको भन्दै त्यसपछिको अवस्था अनुसार विरोधका कार्यक्रम तय गरिने जनाएको छ । बुधबार संघर्ष समिति गठन गर्ने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताइएको छ ।

व्यवसायीहरूले साउदी सरकारले लागू गर्ने सबै कुरा मानेर श्रमिक पठाउन नसकिने भन्दै दूतावाससँगको छलफलमा कडाइका साथ असहमति जनाउन सुझाव दिएका छन् । व्यवसायी मोहन स्याङ्वा, परमेश्वर अधिकारी, कृष्णप्रसाद ढकाल, देव खोकालीलगायतले विगतमा मलेसिया मेडिकल, साउदी भिसा सेन्टरलगायतका विषयमा संघ अलमलमा परेको अवस्थामा सिन्डिकेट लागेको भन्दै पुनः त्यस्तो अवस्था आउन नदिन आग्रह गरेका थिए ।

कतिपयले साउदी सरकारले नै अडान लिएको अवस्थामा सीप प्रमाणीकरणको लागतबारे संघ उचित दृष्टिकोणसहित तयारीमा रहनुपर्ने सुझाव दिएका थिए । केही व्यवसायीले धापासीमा एउटामात्र केन्द्र नभई पूर्वमन्त्रीहरूको लगानीमा धादिङदेखि महोत्तरीको बर्दिवाससम्म यस्ता केन्द्र खोल्दै सिन्डिकेट खडा गर्न थालिएको दाबी गरेका छन् ।

सम्बन्धित खबर