२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बुटवलमा असार ६ र ७ गते चौथो राष्ट्रिय मिडिया सम्मेलन हुने

Nada
२०८३ असार ४ गते १२:०७
Shares
बुटवलमा असार ६ र ७ गते चौथो राष्ट्रिय मिडिया सम्मेलन हुने

काठमाडौं : नेपाली मिडिया क्षेत्रले सामना गरिरहेका आर्थिक, प्राविधिक तथा नीतिगत चुनौतीमाथि व्यापक छलफल गर्ने उद्देश्यसहित ‘चौथो राष्ट्रिय मिडिया सम्मेलन–२०८३’ बुटवलमा आयोजना हुने भएको छ ।

ncell

प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीको आयोजनामा तथा नेपाल मिडिया सोसाइटीको सह–आयोजनामा असार ६ र ७ गते रुपन्देहीको बुटवलमा सम्मेलन हुन लागेको हो ।

‘संकटबाट सम्भावनातर्फः नेपाली मिडियाको दिगो भविष्य’ मूल नारासहित आयोजना हुने सम्मेलनको उपनारा ‘मिडियामा विश्वसनीयता, विविधीकरण र स्थायित्वको खोजी’ रहेको छ । आयोजकका अनुसार सम्मेलनले नेपाली सञ्चार क्षेत्रले भोगिरहेका आर्थिक, संरचनागत, प्राविधिक र नीतिगत समस्याबारे गहन छलफल गर्नेछ ।

पछिल्ला वर्षहरूमा विज्ञापन बजार खुम्चिँदै जानु, डिजिटल प्लेटफर्मको तीव्र विस्तार, सञ्चालन खर्च बढ्दै जानु, पाठक तथा दर्शकको बदलिँदो व्यवहार र राजस्व स्रोतको कमीका कारण विशेषगरी छापा माध्यमहरू गम्भीर संकटमा परेको सन्दर्भमा सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ ।

सम्मेलनको मुख्य उद्देश्य सरकारी विज्ञापन नीतिमा सुधारका लागि साझा धारणा निर्माण गर्नु, मिडियाका लागि वैकल्पिक राजस्व स्रोतको खोजी गर्नु, डिजिटल रूपान्तरणलाई अवसरका रूपमा उपयोग गर्ने रणनीति विकास गर्नु तथा सञ्चार उद्योगभित्र सहकार्य र एकता सुदृढ गर्नु रहेको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा सञ्चारमाध्यमको वर्तमान अवस्था, सरकारी विज्ञापन नीति, मिडियाको दिगोपन, डिजिटल विज्ञापन विस्तार, सञ्चारमाध्यमको विश्वसनीयता, विज्ञापन वितरण प्रणाली, राजस्व विविधीकरण, पाठक तथा दर्शक मापन प्रणाली, डिजिटल संक्रमण तथा सञ्चार उद्योगको भविष्यलगायत विषयमा कार्यपत्र प्रस्तुति, प्यानल बहस, विषयगत छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।

सम्मेलनको दोस्रो दिन राष्ट्रिय दैनिक पत्रिकाहरूको विशेष भेला पनि आयोजना गरिनेछ । उक्त भेलामा दैनिक पत्रिकाले भोगिरहेका साझा समस्या, वितरण प्रणाली, मुद्रण लागत, विज्ञापन व्यवस्थापन, डिजिटल संक्रमण तथा आवश्यक नीतिगत सुधारका विषयमा केन्द्रित छलफल हुने जनाइएको छ ।

सम्मेलनको समापनमा ‘बुटवल घोषणा–२०८३’ जारी गरिनेछ । घोषणामार्फत नेपाली मिडिया उद्योगको दिगोपन, सञ्चारमाध्यमको विश्वसनीयता अभिवृद्धि, विज्ञापन वितरण प्रणालीमा पारदर्शिता, नयाँ राजस्व मोडेलको विकास तथा सञ्चारमाध्यम र विज्ञापन बजारबीच सहकार्य विस्तारका विषयमा साझा प्रतिबद्धता सार्वजनिक गरिने आयोजकको भनाइ छ ।

त्यसैगरी सरकारी विज्ञापन वितरण प्रणालीलाई मापदण्डमा आधारित, पारदर्शी र न्यायोचित बनाउन, राष्ट्रिय मिडिया दिगोपन कोष स्थापना गर्न, डिजिटल विज्ञापन बजारको उचित नियमन तथा स्थानीय सञ्चारमाध्यम संरक्षणका लागि आवश्यक नीति निर्माणमा सम्बन्धित निकायसँग पहल गर्ने अपेक्षा पनि सम्मेलनले राखेको छ ।

सम्मेलनमा देशभरका छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमका सञ्चालक, प्रकाशक, सम्पादक, पत्रकार, सञ्चार विज्ञ, नीतिनिर्माता, विज्ञापन क्षेत्रका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ ।

आयोजकले वर्तमान संकटलाई अवसरमा रूपान्तरण गर्दै दिगो, प्रतिस्पर्धी र विश्वसनीय सञ्चार क्षेत्र निर्माणमा सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित खबर