
काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशसँग पिरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा आफना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त टिप्पणी गरेका हुन् ।
सुरुमा गाउँसँग पिरती रहेको र त्यो जिल्ला हुँदै देशसँग परिणत भएर आफू सांसद, मन्त्री भएको मन्त्री पुनको भनाइ थियो । उनले आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि संसद्मा सुनाए ।
उनले भने, ‘एउटा गीत छ– म त यस्तो होइन दाइ, पिरतीले जोगि बनायो । यो पहिलापहिलातिरको समयमा गाइन्थ्यो यो गीत । अब म पनि त्यस्तो सांसद हुने, मन्त्री हुने मान्छे त होइन, तर पिरतीले मलाई सांसद र मन्त्री बनायो । एउटा लामो कहानी छ । पिरती मेरो कसरी कोसँग बसेर म जोगी भएँ ? भन्ने कुरा आयो क्या । र, मन्त्री भए भन्ने कुरा आयो । मेरो पिरती खासमा देशसँग बसेको हो । तर सुरुमा एकैचोटी देशसँग बसेको होइन । त्यो चाहीँ गाउँसँग बस्यो । म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पिरती बस्यो । गाउँबाट जिल्ला, जिल्लाबाट अरु जिल्ला हुँदै देशसँग पिरती बस्यो । त्यसैले अहिले जोगी भएँ । पक्का जोगी हो म चाँही । व्यावहारिक रूपमा पनि म जोगी नै हो ।’