
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा सहभागीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन गर्ने जानकारी दिए ।
विपद् व्यवस्थापनका लागि सुरक्षा निकायहरू परिचालन गरिसकिएको उनको भनाइ छ । उनले औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर काम गर्ने बताए ।
उनले सम्भावित संकटको अवस्थामा छिटो काम गर्नेगरि संयन्त्र निर्माण गरिएको पनि जानकारी दिए । विपद् व्यवस्थापनका लागि अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिएको उनको भनाइ छ ।
मनसुनका बेला पूर्व–पश्चिम राजमार्ग लगायत निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उनले जानकारी दिए ।
उनकाअनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँ–कहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली (एप) विकास गरिएको छ । उक्त प्रणालीमार्फत कुनै स्थानमा पहिरो वा सडक अवरोध भएमा नजिकको उपकरण तत्काल परिचालन गरेर सडक खुलाउने व्यवस्था मिलाएको उनले जानकारी दिए ।
यसले विगतमा जस्तो यात्रुहरू लामो समयसम्म सडकमा अलपत्र पर्ने अवस्था नहुने उनको भनाइ छ । गृहमन्त्री गुरुङले विगतमा प्राकृतिक विपद्ले नागरिकलाई पुर्याएको क्षतिको अनुभवका आधारमा यसपटक अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।
गृहमन्त्री गुरुङले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा दिन निर्देशन दिएको पनि जानकारी दिए । अपराध नियन्त्रण, सुशासन प्रवद्र्धन र सेवाको गुणस्तर सुधारमा कुनै सम्झौता नगर्ने उनको भनाइ छ ।
सुरक्षा निकायभित्र कार्यसम्पादनका आधारमा मूल्यांकन र पदोन्नति गर्ने नीति अघि बढाइएको उनको भनाइ छ । राजनीतिक दबाब वा पहुँचका आधारमा पदोन्नति हुने प्रवृत्ति अन्त्य गर्ने उनको दाबी छ । नागरिकको सुरक्षा, विपद् प्रतिकार्य र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर गृह मन्त्रालय अघि बढ्ने उनले बताए ।