
बारा : सानो मुलुक नेपालमा संघीयता खर्चिलो र बोझिलो बन्दै गएको भन्ने गलत भाष्य चिर्न संघीयताको सबल पक्षहरूका बारेमा पत्रकारहरूले सशक्त रूपले कलम चलाउन जोड दिइएको छ ।
मधेश प्रदेश, गृह, संचार तथा कानुन मन्त्रालयअन्तर्गत आमसञ्चार प्राधिकरणको आयोजनामाबाराको निजगढ तारा इन होटलमा शनिबार देखि सुरु भएको दुईदिने संघीयता सबलीकरणबारे समाचार लेखनसम्बन्धी कार्यशालामा संघीयताको सबल पक्षमा कलम चलाउन जोड दिइएको हो ।
राष्ट्रिय सभाका पूर्व सदस्य एवम् संघीयता विज्ञ डा.खिमलाल देवकोटाले संघीयता अघि केन्द्र सरकारले गर्ने ५० प्रतिशत भन्दा बढी काम प्रदेश तथा स्थानीय तहमा आए पनि श्रोत साधन भने केन्द्रीकृत भएकोले समस्या भएको बताए । वित्तीय हस्तान्तरणमा पनि मधेसलाई उपेक्षा गरिएको चर्चा गर्दै उनले संघीयतालाई बलियो बनाउन सन्दूक, बन्दुक चाहिने भन्दै संघीयताको उपलब्धि र चुनौतीको बारे प्रकाश पारे ।
संविधान सभा सदस्य प्रहलाद लामिछानेले विनाबर्दीका प्रहरी मानिने पत्रकारहरू बेथितिहरूलाई थितिमा ल्याउन भूमिका खेल्न पर्नेमा जोड दिए । २४ भदौको आन्दोलनमा सुरक्षाकर्मीले केही घन्टा हतियार बिसाउँदा देशैभर त्रासको वातावरण सिर्जना भएको स्मरण गर्दै उनले संघीयताको जननी मधेश्का पत्रकारहरुले संघीयताले अल्पसंख्यक, दलित, महिला, जनजातीहरूका लागि दिएको अधिकारको बारेमा सशक्त लेखनको अपेक्षा गरे ।
संघीयता जादुको छडी नभएकाले तत्काल प्रतिफल नदेखिने उल्लेख गर्दै उनले संविधानले दिएका अधिकारको सुनिश्चितताको लागि सबै क्षेत्रबाट आवाज उठाउनु पर्ने बताए । संघीयता बिष्लेषक डा.बिनय मिश्रले संघीयता कार्यान्वयनमा पात्र र प्रवृत्तिको कारणले केही समस्या रहेको बताए । संघीयता प्रणाली स्वयम गलत नरहेको दावी गर्दै उनले संघीय सरकारले दिने वित्तीय समानीकरण अनुदानमा विभेद, प्रदेशमा सचिवस्तरका कर्मचारी व्यवस्थापनमा समेत आवश्यक सहयोग नगर्दा केही समस्या भएको उल्लेख गरे ।आम संचार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षता आयोजित कार्यक्रममा सहभागीहरुलाई प्रमुख प्रशिक्षक डा.देवकोटा, डा.मिश्र र लमिछानेले प्रशिक्षण दिएका थिए ।
कार्यक्रम संचालन आमसंचार प्राधिकरण मधेस प्रदेशका प्रमुख प्रशासकीय अधिकृत सन्तोष साहले गरेका थिए ।
कार्यक्रममा बारा ,रौतहट , पर्सा र सर्लाहीका विभिन्न राष्ट्रिय सञ्चार माध्यमा कार्यरत तीन दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो ।