
ललितपुर : ललितपुरको गोदावरीमा आयोजित दुई दिने डिजिटल मार्केटिङ तालिम आइतबार सम्पन्न भएको छ ।
सूचना प्रविधिको प्रयोगमार्फत उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा उद्यमशीलता विकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबारदेखि सञ्चालन भएको तालिममा गोदावरीका युवाहरूकोसहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयको वित्तीय सहयोगमा तालिम आयोजना गरिएको हो ।
समापन कार्यक्रममा गोदावरी नगरपालिका–३ का वडाध्यक्ष राज घिमिरेले युवालाई आर्थिक गतिविधिमा जोड्न यस्ता तालिम प्रभावकारी हुने बताए । उनले प्रविधि र कृत्रिम बौद्धिकताको प्रयोगले दैनिक कामकाज सहज र प्रभावकारी बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । तालिमका प्रशिक्षक तथा बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाले २१औँ शताब्दीको प्रतिस्पर्धात्मक युगमा सफल हुन प्रविधिमैत्री र ‘स्मार्ट’ बन्न आवश्यक रहेको बताए ।
उनले एआईसम्बन्धी ज्ञानले व्यक्तिको कार्यक्षमता बढाउनुका साथै रोजगारी र व्यवसायका अवसर विस्तार गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे । अर्का प्रशिक्षक तथा अनलाइन पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले वर्तमान समयमा डिजिटल मार्केटिङसम्बन्धी ज्ञान अत्यन्त आवश्यक रहेको बताए । उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यक्तिगत तथा व्यावसायिक जीवनमा प्रयोग गरी समाज र समुदायको हितमा उपयोग गर्न सहभागीहरूलाई सुझाव दिए ।
प्रशिक्षक शिवहरि घिमिरेले डिजिटल युगमा व्यवसायको दिगोपनाका लागि डिजिटल मार्केटिङ अपरिहार्य बनेको बताए । उत्कृष्ट उत्पादन मात्रै पर्याप्त नहुने र त्यसलाई सही माध्यममार्फत सही ग्राहकसम्म पु¥याउन सक्नुपर्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले डिजिटल मार्केटिङले उद्योग तथा व्यवसायलाई विश्व बजारसँग जोड्ने महत्वपूर्ण माध्यमको रूपमा काम गरिरहेको बताए ।
तालिमले सहभागीहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गरी उत्पादनशीलता वृद्धि तथा बजार विस्तारमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । तालिममा डिजिटल मार्केटिङका आधारभूत सिद्धान्त, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, एआई उपकरणहरूको उपयोग, सामग्री निर्माण तथा अनलाइन बजार प्रवद्र्धनका विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।
दुई दिनसम्म चलेको तालिममा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र पोलिगन कलेजका प्राध्यापक योगेन्द्र बहादुर महताले समेत प्रशिक्षण दिएका थिए ।