सुमन महतारा/मध्यान्ह
गुल्मी, ५ असोज । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले ८ महिनादेखि साउदीमा अलपत्र जगत बहादुर सुनारको उद्दार गरेको छ । गत साउन १५ गते उनकी श्रीमती सुनिताले सामी कार्यक्रमको कार्यालयमा गएर आफ्नो श्रीमान ८ महिनादेखि साउदीमा अलपत्र भएको र नेपाल ल्याइदिनु भन्दै निवेदन दिएकी थिइन् ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का सुनार २ वर्षको रोजगारको लागि साउदी गएका थिए । उनले दुई वर्ष नै काम गरे । २ बर्ष काम गरेपछि जगतलाई अर्को काममा लगाउने भनेर केही दिन छुट्टी दिइयो । छुट्टी लम्मिदै गयो तर जगतलाई कुनै काम दिने तर्फ कम्पनीले चासो देखाएन । एकदिन–दुईदिन गर्दै महिना बित्यो । तर काम लगाउन कम्पनीले चासो देखाएन ।
कम्पनीले काम लगाउने र खाना बस्ने व्यावस्था गर्छु भनेर विस्वास दिलाए पनि काम नलगाएर अलपत्र पारेको जगतले बताए । ८ महिना बित्दासम्म काम नलगाएको र दुई वर्ष कमाएको पैसा खानामै ठिक्क भएको सुनारले गुनासो गरे । ‘पटक–पटक केही काममा लगा, नभए घर जान दे’ भनेर भन्दासम्म कम्पनीले चासो नदिएको उनको भनाइ छ ।
मध्यान्हसँग कुरा गर्दै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले वैदेशिक रोजगारीमा जानुपूर्व सीप सिकेर राम्रोसँग बुझेर मात्र जानुपर्ने बताए । तर जानी नजानी अफ्ट्यारोमा फसेका नागरिकको लागि भने पालिकाले सरकारी संयन्त्रको प्रयोग गरेर सहयोग गर्ने उनले बताए ।
यता सामी कार्यक्रम परामर्शकर्ता शिव भण्डारीले अलपत्र परेको निवेदन आउना साथ वैदेशिक रोजगार विभागको सहयोगमा सुनारले काम गर्ने कम्पनीसँग समन्वय गरी उनलाई फिर्ता ल्याउन सफल भएको बताए ।
सामीले वैदेशिक रोजगारीमा जानभन्दा पहिला विदेश जानेहरुलाई परामर्श दिने गर्दछ । वैदेशिक रोजगारीको सिलसिलामा सत्यवती गाउँपालिका गुल्मीका वीर बहादुर कामीको ३ लाख ५० हजार ठगीएको र उनको विषयमा अध्ययन भइरहेको परामर्शकर्ता भण्डारीले बताए । हालसम्म सामी कार्यक्रमले १ हजार २५० जनालाई परामर्श दिएको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies