
काठमाडौं : सडकपेटीमा आश्रित दृष्टिविहीनहरूमाथि समेत बलपूर्वक हटाउने र जब्बरजस्ती धरपकड गरेपछि सरकारविरुद्ध उनीहरूले पनि प्रदर्शन सुरु गरेका छन् ।
सोमबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरूले वर्तमान सरकारले सडकपेटीमा समेत गरिखान नदिएको भन्दै बलपूर्ण धरपकड र जबरजस्तीविरुद्ध धर्ना दिन सुरु गरेका हुन् ।
वर्तमान सरकारले सडकपेटी, मठमन्दिर, चोकलगायतका क्षेत्रमा बसेर गरिखान समेत नदिने, उल्टै नगर प्रहरीले आएर धरपक्कड गर्ने, जबरजस्ती गर्ने गरेपछि आफूहरूले त्यसको विरुद्धमा धर्नालगायतका आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनु परेको सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहिन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताए ।
उनले सरकारले आफूहरूलाई बिना विकल्प सडकमा समेत गरिखान नदिएको भन्दै आक्रोश व्यक्त गरे । दृष्टिविहीनहरूले सरकारसँग आफूहरूलाई बाँच्नका लागि मासिक २० हजारका दरले भत्ताको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।
उनीहरूले दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म सरकारले आफूहरूलाई बाँच्नका लागि बैकल्पिक व्यवस्था नगरेसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् । दृष्टिविहीनहरूलाई योग्यता र क्षमताको आधारमा भत्तासहित रोजगारीको व्यवस्था गर्नुपर्ने उक्त समूहको भनाइण थियो ।