तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार, ५ असोज । फिफा वल्र्डकपलाई लक्षित गर्दै कतारले केही समयको लागि भिजिट भिसा बन्द गर्ने जनाएको छ । गृहमन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा १ नोभेम्बरदेखि डिसेम्बर २३ सम्म भिजिट भिसा बन्द रहने जानकारी दिएको हो ।
उक्त समयमा फुटबलको रौनक ह्वात बढ्ने हुँदा हय्या कार्ड हुने पर्यटकले मात्र कतार प्रवेश गर्न पाउने जानकारी दिइयो । हय्या कार्ड हुनेहरूले हवाई, स्थल र सामुद्रिक सीमानाबाट प्रवेश पाउने छन् ।
यस निर्णयबाट कतार बाहिर रहेका कतारी नागरिक र कतारी आइडी भएका सबै यात्रु, वर्क परमिट भिसा भएका नयाँ कामदार र कतार सरकारको आधिकारिक स्वीकृतिमा आउने यात्रु तथा पाहुनामा कुनै असर पार्ने छैन । खेल चलिरहेको बेला पनि यी यात्रुहरू कतार आउन जान सक्ने मन्त्रालयले जनाएको छ । हय्या कार्ड भएको व्यक्तिहरू जनवरी २३, २०२३ सम्म कतार बस्न पाउनेछन् ।
के हो हय्या कार्ड ?
कतारमा यही नोभेम्बर २० देखि शुरु हुने विश्वकपको खेल हेर्न स्थानीय तथा विदेशी दर्शकलाई हय्या कार्ड अनिवार्य चाहिन्छ । कार्डले कतार प्रवेशका लागि नोभेम्बर १ देखि डिसेम्बर २३ सम्म मल्टिपल ईन्ट्री भिसाको काम समेत गर्नेछ । त्यस्तै कार्डले निःशुल्क सार्वजनिक सवारी प्रयोग गर्न पनि सुविधा दिनेछ ।
फिफाको वेबसाइटबाट टिकट खरिद गरेपछि तपाइले अनिवार्य रूपमा हय्या कार्डको लागि तोकिएका कागजातसहित फाराम भर्नुपर्ने हुन्छ । उक्त फाराम भरी सके पछि ठेगानामा कार्ड आइपुग्छ । यद्यपि हय्या कार्डको प्रिन्ट कपि अनिवार्य भने छैन । दर्शकले आफ्नो मोबाइलमा हय्या एप डाउनलोड गरेर पनि कार्ड प्रयोग गर्न सक्नेछन् । कार्ड होल्डरहरूले कतारका अलावा दुबई र साउदीको समेत भ्रमण गर्न सक्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies