
काठमाडौं : मुलुकको शिक्षा क्षेत्रका विद्यमान मुद्दाहरूलाई सञ्चारमाध्यममार्फत उजागर गर्न र राज्यलाई उत्तरदायी बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा संस्था शिक्षा पत्रकार समूह (इजेजी)ले सोमबार राजधानीमा आयोजना गरेको एकदिने अभिमुखीकरण कार्यक्रमका सहभागी तथा विज्ञहरूले सो कुरामा जोड दिएको समूहका अध्यक्ष निर्जला कक्षपतिले बताइन् ।
शिक्षा क्षेत्रका गहन मुद्दाहरूलाई सतहमा ल्याई गुणस्तरीय शिक्षाको सबलीकरणका लागि राज्यलाई निरन्तर घचघच्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अग्रज पत्रकार एवं शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले शिक्षा पत्रकारिता केवल घटनाप्रधान मात्र नभएर नीतिगत र परिणाममुखी हुनुपर्नेमा जोड दिए ।

यस्तै, अर्का प्रशिक्षक एवं शिक्षाकर्मी तथा शिक्षा नीति तथा अभ्यास केन्द्रका कार्यक्रम संयोजक टिका भट्टराईले शिक्षा नीति, यसका कमजोरी र स्थानीय तहले शिक्षामा गरिरहेका अभ्यासहरूका विषयमा सञ्चारकर्मीहरूले गहिरो अध्ययन गर्नुपर्ने औंल्याए । वास्तविक धरातलमा पुगेर गरिने पत्रकारिताले मात्रै राज्यको ध्यानाकर्षण गराउन सक्ने उनले विश्वास व्यक्त गरे ।
एकदिने अभिमुखीकरण कार्यक्रममा विद्यालय शिक्षा, बजेट विनियोजन, र दुर्गम क्षेत्रका शैक्षिक समस्याहरूलाई कसरी मुख्य समाचारको विषय बनाउने, नीति निर्माण र कार्यान्वयनको खाडललाई उजागर गर्दै राज्यका निकायहरूलाई घचघच्याउने, पूर्वाधार विकाससँगै शिक्षण सिकाइको गुणस्तर सुधारका लागि बहस पैरवी सिर्जना गर्ने सवालमा जोड दिइएको थियो ।
कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत शिक्षा क्षेत्र हेर्ने ३५ बढी पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागीहरूले यस किसिमको अभिमुखीकरणले आगामी दिनमा खोजमूलक र प्रभावकारी शैक्षिक समाचारहरू पस्कन थप ऊर्जा र स्पष्टता मिलेको बताएका छन् ।