
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको प्रभाव केन्द्रीय प्रशासनिक अड्डा सिंहदरबारमा देखिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहदेखि मन्त्रिपरिषद्का सबै मन्त्रीहरू पार्टी महाधिवेशनमा व्यस्त भएपछि सिंहदरबार सुनसान भएको छ ।
मन्त्रालयमा गैरदलीय मन्त्री महावीर पुन मात्र छन् । त्यसैले उनी चितवन गएनन् । स्वतन्त्र उम्मेदवारी दिएर म्याग्दीबाट चुनाव जितेका पुनलाई उनकै एजेण्डा कार्यान्वयन गर्नभन्दै प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका थिए ।
मन्त्री पुन २४सै घण्टा सिंहदरबारमा बस्छन् । उनको आवास पनि मन्त्रालयमै व्यवस्था गरिएको छ । त्यसअर्थमा १७ सदस्यीय मन्त्रिमण्डलका एक्ला प्रतिनिधि पुनले रास्वपा महाधिवेशन अवधिभर सिंहदरबार रुङ्ने छन् ।
आइतबारदेखि सुरु रास्वपा महाधिवेशनको बन्द सत्र सोमबार सुरु नभएरै स्थगित भयो । प्रधानमन्त्री बालेन, मन्त्री र सांसद्हरू सौराहामा जंगल सफारी लगायत घुमफिर गरेरै डेढ दिन बिताए । सोमबार नियमितजसो मन्त्रिपरिषद् बैठक हुने गरेको थियो । तर, रास्वपा महाधिवेशनमा हुन सकेन । मंगलबार दिउँसो साढे तीन बजे बल्ल बन्दसत्र सुरु भएको छ । रास्वपामा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन निर्विरोध दोहोरिने निश्चित भए पनि उपसभापतिमा डा स्वर्णिम वाग्लेसहितका पदाधिकारीका आकांक्षी मन्त्रीहरूले भने प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।
महाधिवेशन लम्बिँदा त्यसको सिधा प्रभाव सिंहदरबारमा पर्ने देखिएको छ ।