
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सह-महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
चितवनमा जारी रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएमा सह-महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका हुन् ।
पार्टीको विधान अनुसार सह-महामन्त्रीका कुल ५ पदहरूमध्ये ३ जना निर्वाचन प्रक्रियामार्फत चयन भएर आउने व्यवस्था छ ।
वैकल्पिक राजनीतिमा लामो समय सक्रिय रहेका बम हालै सम्पन्न आम निर्वाचनमा काठमाडौँ–४ बाट भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
सन् २००४ देखि २२ वर्षको उमेरमा सामाजिक तथा राजनैतिक अभियानमा जोडिएका उनले आफ्नो नेतृत्व क्षमतालाई पुष्टि गरिसकेका छन् ।
रास्वपामा सहमहामन्त्रीका लागि प्रतिस्पर्धा तीव्र बनेको छ । पुकार बमसँगै नेताहरू रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले पनि यसअघि नै सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।