२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पत्रकार घर्तीमगरलाई ‘शारदा पत्रकारिता पुरस्कार’

Nada
२०८३ असार ९ गते २१:१३
Shares
पत्रकार घर्तीमगरलाई ‘शारदा पत्रकारिता पुरस्कार’

काठमाडौं : पत्रकार प्रदीप घर्तीमगर ‘शारदा पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् । 

ncell

आर्थिक वर्ष २०८२/८३ मा जनसूचना प्रवाह, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा वितरण, विकास व्यवस्थापन तथा स्थानीय शासन सुदृढीकरणलगायतका विषयमा जनमुखी पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्‍याएको भन्दै शारदा नगरपालिकाले पत्रकार घर्तीमगरलाई उक्त पुरस्कार प्रदान गरेको हो । 

शारदा नगरपालिकामा मंगलबार आयोजित कार्यक्रममा पत्रकार घर्तीमगरलाई नगद २५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । नगरप्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा सुनार तथा प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र बुढाले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा नगरका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

नगरपालिकाका अनुसार पत्रकार घर्तिमगरले पत्रकारितालाई समाजको ऐना मात्र नभई सुशासनको आधारभूत स्तम्भका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले गरेका अनुसन्धानात्मक, तथ्यपरक तथा उत्तरदायी समाचार सामग्रीले शारदा नगरपालिकाको पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याएको उल्लेख गरिएको छ ।

पत्रकार घर्तीमगर हाल मध्यान्ह राष्ट्रिय दैनिक, रेडियो शारदा र सामुदायिक सूचना नेटवर्क (सीआईएन)लगायत सञ्चारमाध्यममा आबद्ध रहँदै पत्रकारितामा सक्रिय छन् । 

सम्मान ग्रहणपछि पत्रकार मगरले प्राप्त सम्मानले अझ जिम्मेवार, निष्पक्ष र व्यावसायिक पत्रकारिता गर्न प्रेरणा मिलेको बताए । उनले आगामी दिनमा पनि नागरिकका आवाज, स्थानीय सरोकार र विकासका विषयलाई प्राथमिकताका साथ उठाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका थिए । 

शारदा नगरपालिकाले स्थापना गरेको यो वार्षिक पुरस्कारले स्थानीय तहमा पत्रकारिताको भूमिका, योगदान र प्रभावको सम्मान गर्दै पत्रकारिता क्षेत्रलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर