एस.पी.गौरब/मध्यान्ह
सर्लाही : रौतहटको चन्द्रपुर नगरपालिका ७ मा रहेको चन्द्रपुर अस्पताल प्रा.लि.का सञ्चालकले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । चन्द्रपुर नगरपालिका ७ मा रहेको सो अस्पतालका सञ्चालक डा. सुभाष चौधरीले जिल्लाका क्रियाशील पत्रकार रुपेन्द्र पटेलमाथि दुर्व्यवहार गरेका हुन् ।
गत भदौ २० गते चन्द्रपुर नगरपालिका ७ का रुपलाल माझीका १० वर्षीय छोरा दिपेश माझीलाई सामान्य ज्वरो आएर उपचारका लागि चन्द्रपुर अस्पतालमा लगिएको थियो । तर उपचारको क्रममा बालकको मृत्यु भएको थियो । सोही विषयमा पीडित पक्षले चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका थिए । अस्पताल तोडफोड गरेको समाचार सम्प्रेषण गरिएको विषयलाई लिएर अस्पतालका संचालकसमेत रहेका डा. चौधरीले पत्रकार पटेलमाथि दुर्व्यवहार गरेका हुन् ।
समाचार सम्प्रेषणको विषयलाई लिएर स्थानीय एक सञ्चारकर्मीको मिलेमतोमा डा. चौधरीले अपहरण शैलीमा आफूलाई अस्पतालभित्र लगेर डर, धाक, धम्की र त्रास देखाएर माफी मगाउने र त्यसको भिडियोसमेत बनाउने कार्य गरेको पत्रकार पटेलले मध्यान्हलाई बताए ।
समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्न पाइने कानूनी व्यवस्था हुँदाहुँदै कानून विपरीत पत्रकार पटेललाई दुर्व्यवहार गरेपछि सञ्चारकर्मीहरुका संघ, संगठन र नेपाल पत्रकार महासंघले समेत घोर भर्त्सना गरेको छ ।
उक्त समाचारमा डा. चौधरीको प्रतिक्रिया समेत समेटिएको भएपनि उनले गुण्डागर्दी र अपहरण शैलीमा पत्रकार पटेललाई अस्पतालमा ल्याएर गरेको दुर्व्यवहारप्रति कडा आपति जनाउँदै नेपाल पत्रकार महासंघ रौतहटले उनको मेडिकल काउन्सिल दर्ता खारेज गर्न माग समेत गरेको छ ।
पत्रकार पटेललाई विभिन्न बहानामा अस्पताल लैजाने एक स्थानीय सञ्चार उद्यमी पनि प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा लागेकाले छानविन गर्न महासंघ रौतहटले विज्ञप्तिमार्फत माग गरेको महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले मध्यान्हलाई बताए ।
अध्यक्ष झाका अनुसार पत्रकार पटेलले आफू चन्द्रनिगाहपुरमा आफ्नै काममा रहेको समयमा बुधबार दिउँसो करिब साढे १२ बजे चन्द्रपुर नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय सञ्चार उद्यमीले फोन गरेर आफूलाई पसलमा बोलाएका थिए । त्यसपछि एक ठाउँमा जाउँ एकै छिनमा फर्किने हो भनेर आफ्नै मोटरसाईकलमा राखेर चन्द्रपुर हस्पिटलमा लगेर हात समाती तानेर भित्र लगेपछि चन्द्रपुर अस्पतालका सञ्चालक डा. चौधरीले फार्मेसी पछाडि रहेको एउटा कोठामा आफ्ना कर्माचारीहरुको बीचमा क्यामरा मगाएर भिडियो बनाउँदै भदौ २० गतेको समाचार कसको बहकाउमा आएर लेखिस् ? नाम भन नत्र तँलाई ३ वर्षको लागि जेल चलान गर्न कुनै कसर बाँकी राख्ने छैन भन्दै धम्की दिएको पीडित पत्रकार पटेलले जानकारी दिए ।
‘भदौ २० गते समाचार लेखेको गलत हो । मैले कसैको बहकाउमा आएर सो समाचार लेखेको हुँ त्यसको लागि म चन्द्रपुर हस्पिटल प्रा.लि र डा. चौधरीसँग क्षमा चाहन्छु भनी जबरजस्ती बोल्न लगाए’, पत्रकार पटेलले भने, ‘नबोलेमा ३ वर्ष जेल र ३० हजार जरिवाना हुने त्रास देखाउँदै मलाई अभद्र व्यवहार गरे।’
यता, चन्द्रपुर अस्पतालका सञ्चालक डा.चौधरीले पत्रकार पटेलसँग सामान्य भलाकुसारी भएको बताएका छन् । उनले बाहिर आएजस्तो केही नभएको प्रतिक्रिया दिए ।
भदौ २० गते सोमबार बिहान करिब साढे ५ बजेको समयमा चन्द्रपुर नगरपालिका ७ का रुपलाल माझीका १० वर्षीय छोरा दिपेश माझीलाई सामान्य ज्वरो आएर उपचारका लागि चन्द्रपुर अस्पताल लगेको र डाक्टरहरुकै लापरबाहीका कारण दिपेश माझीको ज्यान गएको स्थानीयहरु बताउँछन् ।
चन्द्रपुर नगरपालिका ७ का वडाअध्यक्ष विष्णुप्रसाद उप्रेतीले भने, ‘सामान्य ज्वरो आएको बच्चालाई उपचारको क्रममा मृत्यु भएपछि डाक्टरको लापरबाहीले ज्यान गयो भन्दा अस्पतालका सञ्चालक डा. चौधरीले के को लापरबाही कानूनमा जानुस् भनेर पठाएका थिए ।’
डा. चौधरीले आफूलाई कानून नलाग्ने बताएका थिए । चन्द्रपुर अस्पताल प्रा.लि.को लापरबाहीका कारण कैयौं बिरामीले ज्यान गुमाइसकेको अवस्था छ । नियमनकारी निकायले कारबाही नगर्दा यस्ता घटना बारम्बार हुँदै आएका छन् । डा. चौधरीले सो अस्पतालमा सिकारु डाक्टरलाई राखेर अस्पताल सञ्चालन गर्दै आएको स्थानीयहरु बताउँछन् । डा.चौधरीले उपचार सेवालाई पैसा असुल्ने धन्दा बनाएको स्थानीयहरुको आरोप छ ।
चन्द्रपुर अस्पतालमा रिङ्गटा लाग्ने, टाउको दुख्ने, वाकवाकी हुने जस्ता सामान्य बिरामी आउने बित्तिकै सिटिस्क्यान गरेर पैसा असुल्ने गरेको एक स्थानीयले बताए । सो अस्पतालमा सुत्केरी हुन आउने अधिकांश महिलालाई शल्यक्रिया गरेर बच्चा निकाल्ने गरेको स्थानीयको भनाइ छ ।
भदौ २० गते उपचारको क्रममा मृत्यु भएका दिपेशको घटनामा सत्यतथ्य छानविन गरेर दोषी चिकित्सकलाई कारबाही गर्न स्थानीयहरुले माग गरेका छन् । बिरामीका आफन्तहरुले बालकको उपचारमा लापरबाही गरेका चिकित्सकलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies