२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

अख्तियारको फन्दामा सरकारी साक्षी : बकपत्र फेरेपछि चापागाईंविरुद्ध मुद्दा दायर

Nada
२०८३ असार १० गते १६:३३
Shares
अख्तियारको फन्दामा सरकारी साक्षी : बकपत्र फेरेपछि चापागाईंविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका विकास कुमार चापागाईंविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

ncell

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी ठेगाना भएका चापागाईंलाई यसअघि झलकराम अधिकारी समेत प्रतिवादी भएको घुस/रिसवत सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४४ बमोजिम अनुसन्धानमा सहयोग गर्ने सर्तमा उनलाई सजायमा पूर्ण छुट दिने मागदाबी गरिएको थियो ।

तर गत २०८३ जेठ १३ गते विशेष अदालतमा बकपत्र गर्ने क्रममा चापागाईंले आयोगमा गरेको बयान र संलग्न प्रमाणका विपरीत कुरा बोलेपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानका अनुसार, एच.के. इन्टरप्राइजेज प्रा.लि.का सञ्चालकको व्यापारिक कारोबारमा सहजीकरण गरिदिने र राजस्व चुहावटको विषयमा कारबाही नगर्ने उद्देश्यले ५० लाख रुपैयाँ बराबरको घुस लेनदेन भएको देखिएको छ । उक्त रकम बराबरको चेक प्रतिवादी झलकराम अधिकारीको निर्देशनमा चापागाईंको नाममा काटिएको र चापागाईंले उक्त रकम आफ्नै बैंक खातामा जम्मा गरेको पाइएको छ । सो रकम अधिकारीकै निर्देशन बमोजिम जग्गा खरिदमा प्रयोग भएको समेत पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चापागाईंले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुरको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको देखिएको छ । यस्तै सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुरमा समेत उनको संलग्नता पुष्टि भएको उनले बताए ।

अख्तियारले चापागाईंविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनका विभिन्न दफाहरु बमोजिम मुख्य कसुरदार सरह नै सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर