काठमाडौं : दुबईमा गुल्मीका ३१ वर्षीय भरत विकले चिठ्ठा मार्फत जितेको करिब ३५ करोड रुपैयाँले उनको पारिवारिक स्थिति मात्रै नभई देशकै अर्थतन्त्रमा योगदान दिने देखिएको छ । यूएईमा महजुज शीर्ष पुरस्कार जित्ने भरत पहिलो प्रवासी नेपाली हुन् ।
कार धुने काम गर्दै आएका विकले गतहप्ता लक्की ड्रमा एक करोड दिराम करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ जितेका छन् । उक्त रकम जित्न उनले विगत साढे दुई वर्षदेखि निरन्तर चिठ्ठा खरिद गर्दै आएका थिए ।
मासिक एक हजार तीन सय दिराम कमाइ गर्दै आएका भरतले ‘महजुज ड्र’ नामको सो लक्की ड्र जितेपछि आगामी असोज ११ गते स्वदेश फर्किने योजनासमेत पर सारेका हुन् । उनलाई उक्त रकम नेपाल ल्याउन प्रक्रिया मिलाउनु पर्ने भएपछि घर फर्किने समय पर सार्नुपरेको बताइएको छ ।
दुई सन्तानका पिता भरत तीन वर्षअघि दुबई गएका हुन् । ब्रेन ट्युमरबाट पीडित उनको कान्छो भाइको उपचार भइरहेको छ । उनका बुबा भारतमा ड्राइभरको काम गर्छन् । भरत भन्छन्, ‘रकमको अभावमा भाइको उपचारमा समस्या भयो । अपरेशनको क्रममा उसलाई पक्षाघात भएर कान गुम्यो । अब राम्रोसँग उपचार गराउने छु ।’
भरतले आफ्ना सन्तानको शिक्षा र परिवारको बसोबासका निम्ति पनि उक्त रकम खर्चने बताएका छन् । उनले यूएईमा आफ्नो भाग्य बदलिएको भन्दै जितेको रकम व्यवस्थापन गरेपछि पुनः यूएई जाने बताएका छन् । करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ जितेपनि उनको दुबईमा बैंक खातासमेत छैन ।
महजुजका संचालक इविङ्सका सिइओ फरिद सामजीले भरतका लागि बैंक खाता खोल्न मद्दत गरिरहेको बताएका छन् । दुबई जानुअघि भरत वैदेशिक रोजगारका लागि साउदी अरब गएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies