२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सशस्त्र प्रहरीमा आर्थिक सुशासन र सीमा सुरक्षालाई प्राथमिकता दिने महानिरीक्षक पौडेलको प्रतिबद्धता

Nada
२०८३ असार ११ गते १३:२३
Shares
सशस्त्र प्रहरीमा आर्थिक सुशासन र सीमा सुरक्षालाई प्राथमिकता दिने महानिरीक्षक पौडेलको प्रतिबद्धता

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद् व्यवस्थापन र आर्थिक सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन् ।

ncell

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संगठनको छवि सुधार्न र जनअपेक्षाअनुसार नतिजा दिन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । सीमा सुरक्षाको सन्दर्भमा महानिरीक्षक पौडेलले जनशक्ति र प्रविधिको चुनौतीका बाबजुद थप प्रभावकारी परिचालन गर्ने बताए ।

उनले सीमा नाकामा हुने नागरिकको आवतजावतलाई सहज बनाउन र सीमा अपराध नियन्त्रण गर्न ‘बोर्डर इन्टरयाक्सन टिम’ को अवधारणा ल्याइएको जानकारी दिए । राजस्व चुहावट नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै महानिरीक्षक पौडेलले संगठनभित्र आर्थिक सुशासन र पारदर्शिताका लागि ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति लिइने स्पष्ट पारे ।

संगठनभित्र हुनसक्ने आर्थिक अनियमिततासम्बन्धी गुनासोहरूको समयमै निराकरण गरी संरचनागत सुधारमा जोड दिने उनको भनाइ छ । संगठनको नीतिगत र संरचनागत विकासका लागि ‘नीति अनुसन्धान तथा योजना निर्देशनालय’लाई स्तरोन्नति गरी कार्य प्रारम्भ गरिएको उनले जानकारी दिए । यस निर्देशनालयले सशस्त्र प्रहरीको म्यान्डेट र जिम्मेवारीलाई भविष्यमा थप प्रभावकारी बनाउन अध्ययन, अनुसन्धान र योजना निर्माणमा केन्द्रित रहने बताइएको छ । 

विपद् व्यवस्थापनका क्षेत्रमा संगठनले स्थापनाकालदेखि नै महत्वपूर्ण भुमिका खेल्दै आएको स्मरण गर्दै उनले हाल पूर्ण तयारीका साथ प्रतिकार्य योजना बनाएर समन्वयका साथ अगाडि बढिरहेको बताए ।

साथै, सूचना प्रविधि र सञ्चार क्षेत्रलाई समयसापेक्ष रूपमा स्तरोन्नति गर्ने कार्य भइरहेको उनले उल्लेख गरे । महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानुन निर्माणको प्रक्रियामा रहेको जानकारी दिँदै कानुनी र नीतिगत स्पष्टताका लागि सरोकारवाला पक्षहरूबाट रचनात्मक सुझावको अपेक्षा गरे ।

उनले दुई दशक लामो इतिहास बोकेको संगठनलाई विद्यमान संरचनाकै जगमा अझ बढी नतिजामुखी बनाउन आफू केन्द्रित रहने बताए ।

ताजा खबर

सम्बन्धित खबर