२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सुकुम्वासीको चेतावनी- 'स्थायी विकल्प देऊ, नत्र पुरानै बस्ती फर्कन्छौं'

Nada
२०८३ असार ११ गते १५:०८
Shares
सुकुम्वासीको चेतावनी- 'स्थायी विकल्प देऊ, नत्र पुरानै बस्ती फर्कन्छौं'

काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो व्यवहारविरुद्ध आन्दोलित भएका छन् । सरकारले स्थायी व्यवस्थापनको विकल्प नदिई राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर जबरजस्ती निकाल्न खोजेको भन्दै उनीहरूले ‘पीडितहरूको सरोकार पत्र’ सार्वजनिक गरेका छन् ।

ncell

दुई महिनाअघि असुरक्षित बस्ती हटाउने क्रममा सरकारले ६० दिनभित्र स्थायी समाधान दिने प्रतिबद्धता जनाएको थियो । निर्वाचनका समयमा वर्तमान सरकार प्रमुखले जग्गा धनी पुर्जा दिने वाचा गरे पनि अहिले आफूहरूलाई बिचल्लीमा पारेको उनीहरूको आरोप छ । होल्डिङ सेन्टरमा बस्दा खानपान र अन्य आधारभूत सुविधा पाउन कठिन भएको र बालबालिकाको पढाइ समेत अन्योलमा परेको उनीहरूले गुनासो गरेका छन् ।

सरकारी निकायले गत २०८३/०३/०९ गते सूचना टाँस गरी २५ हजार रुपैयाँ लिएर ३ दिनभित्र (असार १२ गतेभित्र) सेन्टर खाली गर्न निर्देशन दिएको थियो । चर्को गर्मी र कष्टकर परिस्थितिका बीच सरकारको दिगो व्यवस्थापन कुरेर बसेका पीडितहरूलाई यो निर्णयले थप मर्माहत बनाएको छ ।

सुकुम्वासीहरूले सरकारसमक्ष ५ बुँदे माग अघि सार्दै आफ्ना समस्या समाधान गर्न आग्रह गरेका छन् ।

उनीहरूले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान गर्न, उठिबास भएकाहरूलाई प्राथमिकतामा राखी समस्या समाधान गर्न, स्थायी व्यवस्थापन नहुन्जेल सरकारी सेवा सुविधा र बस्ने ठाउँ सुनिश्चित गर्न, सरकारी नीति र कार्यक्रम बमोजिम उपयुक्त र उचित स्थायी व्यवस्थापन गर्न माग गरेका छन् । साथै स्थायी विकल्प नदिई निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने पनि उनीहरूको चेतावनी छ ।

पीडितहरूले आफूहरूलाई जबरजस्ती निकालिएमा विकल्प नभएका कारण पुनः पहिलेकै ठाउँमा गएर बस्नुको विकल्प नरहेको चेतावनी दिएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर