
काठमाडौं : सामाजिक अभियन्ता तथा पत्रकार सुशान्त न्यौपाने तथा समाजसेवी तिलक पौडेलको विशेष पहलकदमीमा नुवाकोटको किस्पाङ गाउँपालिका अन्तर्गतका चार विद्यालयमा पोसाक, झोला, खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
किस्पाङको भूमेदेवी आधारभूत विद्यालयका ४२ जना विद्यार्थी र कन्यादेवी आधारभूत विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीहरूलाई ट्रयाकसुट र सिम्राङचौर आधारभूत विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको हो । यसैगरी ज्ञानज्योति मा.वि.मा विद्यालयले माग गरेका खेलकुद तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको न्यौपानेले बताए । उनका अनुसार कार्यक्रमलाई सफल बनाउन शुभकामना इङ्लिस बोडिङ सेकेन्डरी स्कुल, मानवीय परोपकारी संस्था नेपाल, लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, रोटरी क्लव अफ नक्साल शक्ति, एन्जल्स हार्ट एजुकेसन फाउन्डेसन, नागरिक सचेतना समाजले सम्बन्धित सामग्री सङ्कलन गरी सहयोग पुर्याएको थियो ।

ज्ञानज्योति मा.वि.मा राखिएको कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, सञ्चारकर्मी तथा सामाजिक अभियन्ता न्यौपाने, शिक्षा शाखा प्रमुख सरोज अधिकारी, पूर्व शिक्षक भूपाल गौतम, समाजसेवी तिलक पौडेल, कुमार ढकाल, सुनिल खनाल, चार वटै विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सामग्री वितरणका लागि ज्ञानज्योती मा.वि.मा आयोजित एक कार्यक्रममा बोल्दै अभियन्ता न्यौपानेले किस्पाङ गाउँपालिकाभित्र कुनै समस्या भएका विद्यालयहरुबाट माग आएको खण्डमा आगामी दिनमा समेत यथाशक्य सहयोग गर्ने बताए । ‘जहाँ कोही पुग्दैनन् त्यहाँ लायन्स पुग्छ’ भन्ने नारालाई आत्मसात गर्दै न्यौपानलेले यसै वर्षको जाडोयाममा सूर्यगढी गापा वडा नं १ र २ का आठ सामुदायिक विद्यालयमा अध्ययनरत ७ सय जना विद्यार्थीहरूलाई स्वेटर र ट्रयाकसुट वितरण गरिएको स्मरण गरे ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले सहयोगी संस्थाहरूको तर्फबाट सुशान्त न्यौपानेले गाउँपालिकासँग समन्वय गरेर समस्या पहिचान भएका विद्यालयले माग गरेअनुसारको विद्यालय पोसाक, झोला, खेलकूद तथा शैक्षिक सामग्री वितरण गरिएको बताए । शैक्षिक गुणस्तरमा टेवा पुर्याउने उद्देश्यले दाताहरूले गरेको सहयोगबाट विद्यालयले शिक्षामा गुणस्तरीय ल्याई अझै उत्कृष्ट काम गर्दै गएमा मात्र दाताहरूबाट लिएको सहयोगको सम्मान हुने बताए ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सरोज अधिकारी र ज्ञानज्योति मा.वि.का प्रधानाध्यापक सुरेन्द्र भट्टले पनि सम्बोधन गरेका थिए । त्यस्तै भूमेदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक इश्वरी खनालले स्वागत कविता वाचन गरी कार्यक्रमको माहोललाई उत्कृष्ट बनाएकी थिइन् ।