शीर्ष नेताहरुको निवासमा केही समय यता सांसद बन्न चाहने आकांक्षीहरुको भीड देखिएको छ । सत्तारुढ गठबन्धनमा मात्रै नभएर प्रमुख विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुको निवासमा पनि शीर्ष नेताहरुको भीड छ । चुनाव जित्ने संभावना सत्तारुढका उम्मेद्वारलाई तुलनात्मक सजिलो रहेको अनुमान छ । त्यसैले गठबन्धनका नेताहरुको निवासमा भीड देखिनु स्वभाविक हो । तर २०७४ को नजीरले पनि गठबन्धनकै उम्मेद्वारलाई चुनाव जित्न सजिलो छ । त्यसबेला ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । गठबन्धनबाट उम्मेद्वार बन्दा एमालेबाट ८० र माओवादीबाट ३६ जनाले जितेका थिए । १६५ मध्ये ७० प्रतिशत सिट वाम गठबन्धनले जितेको थियो । तराई मधेशमा तत्कालीन समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच तालमेल भएकाले नेपाली कांग्रेसले २३ सिट मात्रै जितेको थियो ।
यसपटक एमालेको नतिजा त्यसबेलाको कांग्रेससँग गरिदैछ । तर पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा टिकट माग्नेको भीड छ । त्यसपछि महासचिव शंकर पोखरेल लगायत नेताहरुसँग टिकट माग्नेहरुको धेरै देखिन्छन् । प्रत्यक्षतर्फ भन्दा पहिले समानुपातिक तर्फको सिट टुंग्याइदैछ । त्यसैले समानुपातिक तर्फ सूचीमा पर्न ठूलै होडबाजी चलिरहेको छ । यसपटक अघिल्लो पटक नदेखिएको उत्साह स्वतन्त्रतर्फ पनि देखिएको छ । काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह, धरान उपमहानगर पालिकामा हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकामा गोपाल हमालले स्वतन्त्र उम्मेद्वारी दिएर पनि जितेपछि स्वतन्त्रतर्फ उम्मेद्वार बन्न चाहनेको भीड नै देखिएको छ ।
माथि बर्णन गरिएका विवरणले लोकतन्त्र नै मजबुत बन्दै गएको प्रमाणित गर्छ । किनकि जनप्रतिनिधि बन्न उत्सुक धेरै देखिनुको अर्थ लोकतन्त्र बलियो हुनु नै हो । तर जनप्रतिनिधि बन्नुको अर्थ सेवा भन्दा पनि शासनको मोहबाट बढी उत्प्रेरित देखिन्छ । एकपटक चुनाव जितेपछि राज्यको स्रोतसाधन दुरुपयोगको वैधता पाउने पुरानो भाष्यले निरन्तरता पाउदै आएको छ । सांसद र मन्त्री हुनु भनेको लोकतन्त्रमा शासन सत्ता सञ्चालनको अवसर मानिन्छ, तर त्यसरी पाएको अवसर जनताको सेवाका निम्ति हुनुपर्ने हो । त्यसो नभएर जनतामाथि शासनकै मनोविज्ञान देखिनु र त्यसैका लागि टिकट माग्नेहरुले मरिहत्ते गरेको देखिन्छ । यस्तो प्रवृत्ति लोकतन्त्रकै निम्ति घातक छ । त्यसैले टिकट लिन हत्ते गरिरहेकाले सवैभन्दा पहिलो मनोविज्ञान बदल्न जरुरी छ, बाँकी त लोकतान्त्रिक अभ्यास हो । जनप्रतिनिधि बन्न सक्ने कि नसक्ने भन्ने कुरा जनताको मन जितेरै प्रमाणित गर्नुपर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies