
प्युठान : प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको शनिबार साँझ भएको सवारी दुर्घटनामा निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिका–२ धनवाङको बांगेसल्ला क्षेत्रमा उपप्रमुख राना आफैंले चलाइरहेको नगरपालिकाको लुम्बिनी प्रदेश ०१–००१ भ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ सडकबाट करिब ३०० मिटर तल भिरमा खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उपप्रमुख रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार जिपमा रानाबाहेक अन्य कुनै पनि व्यक्ति सवार नरहेको खुलेको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । घटनास्थलबाट शव निकालेर पोष्टमार्टमका लागि प्युठान अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उपप्रमुख रानाको असामयिक निधनले स्वर्गद्वारी नगरपालिका तथा समग्र प्युठान जिल्लामा शोकको वातावरण सिर्जना भएको छ । स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।