दशैंको तयारीमा आमनागरिक जुटिरहँदा राजनीतिक नेतृत्व भने टिकट बाँडफाँडमा व्यस्त छ । सत्तारुढ दलहरुबीच दलीय भागबण्डाको गृहकार्य चलिरहेको छ भने प्रमुख विपक्षी दल नेकपा एमाले सकेसम्म आफ्नो पक्षधर दलको संख्या, मतदाता र नेता बढाउने सुरमा छ । टिकट लिन चाहनेहरुको शीर्ष नेताको आँगनमा मेला नै देखिएको छ । यसपटक स्वतन्त्र उम्मेद्वारी घोषणा गर्ने प्रतिश्पर्धा नै चलेको छ । टिकट र उम्मेद्वारीसँगै चुनाव कसरी जित्ने भन्ने रणनीतिमा आकांक्षी र राजनीतिक दलहरू देखिन्छन् । पार्टीको उम्मेद्वार निश्चित नभएपनि आकांक्षी नेताहरुले जनताको मन जित्ने एजेण्डाको खोजीलाई तीव्र पारेका छन् । स्वतन्त्र उम्मेद्वारहरुले पनि चुनावी एजेण्डा जनतामा लैजान थालेका छन् । प्रमुख दलहरुमा भने घोषणापत्र लेखन कार्य पनि भइरहेको छ ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले घोषणापत्र मस्यौदा तयार पारिरहेको छ । प्रमुख विपक्षी दल एमालेमा अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा मस्यौदा तयार भइरहेको छ । नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ संयोजकत्वको टोली बनाएको छ भने नेकपा एकीकृत समाजवादीले तीन उपमहासचिवको नेतृत्वमा मस्यौदा तयार पारिरहेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले साझा घोषणापत्रको तयारी पनि गरिरहेको छ । चुनाव लगत्तै एकता गर्नेगरी एउटै घोषणापत्रबाट चुनाव लड्ने यी दुई दलको तयारी छ । जसरी, जुन माध्यमबाट र जुन तहमा भएपनि सबैको साझा उद्देश्य छ, जनताको मन जितेर चुनावमा मत पाउने ।
एक अर्थमा भन्ने हो भने अहिले प्रारम्भिक प्रतिबद्धतापत्र हेर्दा हरेक उम्मेद्वार र राजनीतिक दल जनताप्रति पूर्ण जवाफदेही, उत्तरदायी र प्रतिबद्ध छन् भन्नेमा कुनै आशंका हुन्न । तर फेरि पनि जनताको समस्या भने उही हुने नियति तोडिएको छैन । बितेको तीन वर्षमा आमनागरिकले ठूला संकटहरु खेप्नु परेको छ । विश्वब्यापी कोरोना महामारीबाट मुलुकले ठूलो प्रताडना खेप्नुपरेको छ । लगभग मानवीय संकट नै उठाउनु परेको छ । विशेषगरी न्यून आय भएका जनताले ठूलो संकट खेप्नु परेको थियो । कोरोना पछि फेरि विश्वब्यापी आर्थिक संकटका कारण चर्को महँगी खेप्नु परिरहेको छ । अहिले चुनाव नजिकिदै गर्दा पनि डेंगु, प्राकृतिक प्रकोप लगायतको संकट खेप्नु परेको छ । रोजगारीको खोजीमा विभिन्न देश पुग्ने युवाहरुको संख्या घटेको छैन । तर फेरि पनि दलहरुको प्रतिबद्धता पत्र भने स्वर्ण बन्दैछ । त्यसैले यसपटक दल र उम्मेद्वारहरुलाई यो प्रश्न उठाउनु हरेक मतदाताको र जवाफदेही बन्नु उम्मेद्वारका दायित्व हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies