
रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–३, मेवास्थित रौतहट–बारा सीमामा वर्षौंदेखि अलपत्र रहेको पुलको गएराति ढलान सम्पन्न गरिएको छ ।
स्थानीयका अनुसार उक्त पुल निर्माणको प्रयास २०७८ सालमा ठेकेदार अरबिन्द साहले गरेका थिए । त्यसबेला बारा जिल्लातर्फका केही स्थानीयले पुल निर्माण भएपछि आफ्नो गाउँ डुबानमा पर्ने भन्दै विरोध गरेका थिए । विरोधका क्रममा निर्माण सामग्रीमा क्षति पुगेको तथा झडपसमेत भएको स्थानीयहरूको भनाइ छ ।
त्यसपछि दुवै जिल्लाका सरोकारवाला निकायबीच पटक–पटक छलफल भए पनि सहमति नजुट्दा पुल निर्माण वर्षौंदेखि अलपत्र परेको थियो ।
स्थानीयका अनुसार नेपाली कांग्रेसका नेता तथा मेयर पदका उम्मेदवार ज्ञानेन्द्र यादवको पहलमा करिब ८ लाख रुपैयाँको लागतमा गएराति पुलको ढलान सम्पन्न गरिएको हो। ढलानका क्रममा एउटा मिक्सर मेसिनमा तोडफोड भएको पनि स्थानीयले बताएका छन् ।
पुल निर्माण नहुँदा रौतहट र बारा जिल्लाबीच आवतजावत गर्ने सर्वसाधारणले लामो समयदेखि सास्ती भोग्दै आएका थिए । ढलान सम्पन्न भएपछि स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।
स्थानीयहरूले ज्ञानेन्द्र यादवको पहलको प्रशंसा गर्दै पुल निर्माण कार्यले दुई जिल्लाका बासिन्दालाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।