
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पत्रकारिता क्षेत्रका समसामयिक चुनौती र महासंघको भावी भूमिकाबारे केन्द्रित सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यता तथा महासंघको काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्यालको सभापतित्वमा आइतबार भएको कार्यक्रममा करिब एक सय जना सम्पादक तथा प्रकाशकको सहभागिता रहेको थियो ।

कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्मा र महासचिव रामप्रसाद दाहाल, प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सम्पादक समाजका अध्यक्ष पुरु रिसाल, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिकी कार्यवाहक अध्यक्ष रोजिना थापा कार्की, पत्रकार महासंघ काठमाडौं शाखाका पूर्वअध्यक्षहरू सन्तराम बिडारी, सूर्य सुवेदीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा मध्यान्ह दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठ, दामोदरप्रसाद दवाडी, टंक कार्की, डा. केशव देवकोटालगायतले पत्रकारिता क्षेत्रका समस्या, अनुभव र सुधारका उपायबारे धारणा राखेका थिए । साथै उनीहरूले महासंघले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई थप प्रभावकारी, समावेशी र उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिएका थिए ।

छलफलका क्रममा सञ्चारमाध्यमले भोगिरहेको आर्थिक संकट, सरकारी विज्ञापन वितरणमा देखिएको असन्तुलन, पत्रकारको श्रम अधिकार, न्यून पारिश्रमिक, डिजिटल पत्रकारिताको बढ्दो प्रभाव, प्रेस स्वतन्त्रताको संरक्षण तथा पत्रकारमाथि बढ्दो दबाबजस्ता विषय प्रमुख रूपमा उठाइएको थियो । साथै राज्यका निकायबाट हुने हस्तक्षेप रोक्न र पत्रकारहरूको पेशागत हकहितको रक्षा गर्न महासंघले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए ।
काठमाडौं शाखाले कार्यक्रममा प्राप्त सबै सुझावलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी आगामी नीति, आन्दोलन र कार्ययोजनामा समावेश गरिने जनाएको छ । पत्रकार, सम्पादक र प्रकाशकबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै संस्थागत सुधारका लागि आवश्यक पहल अघि बढाइने प्रतिबद्धता पनि शाखाले व्यक्त गरेको छ ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पादक, प्रकाशक, सञ्चारकर्मी, अतिथिलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति शाखाले आभार व्यक्त गरेको छ ।
हाल सञ्चार क्षेत्र आर्थिक मन्दी, विज्ञापन बजारको संकुचन, डिजिटल माध्यमसँगको तीव्र प्रतिस्पर्धा तथा पत्रकारहरूको पेशागत असुरक्षाजस्ता चुनौतीसँग जुधिरहेका बेला यस्ता छलफल कार्यक्रमले साझा एजेन्डा तय गर्न, सरोकारवालाबीच विश्वास अभिवृद्धि गर्न र पत्रकारिता क्षेत्रका समस्याको समाधानका लागि समन्वयात्मक पहल अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । काठमाडौं शाखाका सचिव रमेशकुमार बोहराले कार्यक्रम सञ्चालन गरेका थिए ।
