२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पहिलो जन्मोत्सव पार्कमा स्व.खातीको शालिक अनावरण

Nada
२०८३ असार १४ गते २२:३९
Shares
पहिलो जन्मोत्सव पार्कमा स्व.खातीको शालिक अनावरण

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवामा जन्मिएका स्वर्गीय लोकगायक लालबहादुर खातीको शालिक पहिलो जन्मोत्सव पार्कमा अनावरण गरिएको छ ।

ncell

‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ अभियानअन्तर्गत निर्माण भइरहेको जन्मोत्सव पार्कमा आइतबार राष्ट्रिय वृक्षारोपण कार्यक्रमका राष्ट्रिय संयोजक गोविन्दप्रसाद चौलागाईं र वडाध्यक्ष उद्धव नेपालले संयुक्त रूपमा शालिक अनावरण गरेका हुन् । 

कार्यक्रममा स्थानीय नेत्रज्योति रेडियो तथा लोकप्रिय दैनिकका प्रमुख नेत्रबहादुर बस्नेतले स्वर्गीय खाती बहुप्रतिभाशाली कलाकार भएको उल्लेख गर्दै उनको योगदानको सम्मानस्वरूप शालिक निर्माण गरिएको बताए । उनले अभियानमार्फत प्रेरणादायी कार्यक्रम सञ्चालन गरी शालिक निर्माण गरिएकामा राष्ट्रिय संयोजक चौलागाईंप्रति धन्यवाद व्यक्त गरे । 

शालिक निर्माणका लागि चौतारा साँगाचोकगढी नगरपालिका–१४ ले आर्थिक सहयोग गरेको थियो । 

सोही अवसरमा राष्ट्रिय वृक्षारोपण दिवस पनि मनाइएको थियो । 

कार्यक्रममा जिल्ला वन कार्यालय सिन्धुपाल्चोकका प्रमुख तथा कर्मचारी, राम्चे सामुदायिक वनका पदाधिकारी, डडुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक, स्वर्गीय लालबहादुर खातीका परिवारका सदस्य, स्थानीय संघसंस्थाका प्रतिनिधि, समाजसेवी मनोज थापालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वर्गीय खातीका चर्चित लोकगीत ‘अरु काले रेलको धुवाँले, म त काले छातै नओढनाले’ लगायतका सिर्जनाको स्मरण गर्दै उनको सांगीतिक योगदानको चर्चा गरिएको थियो ।

‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ अभियानअन्तर्गत जन्मोत्सव पार्क निर्माणको अभियान हाल सिन्धुपाल्चोक, काभ्रे र रौतहटमा सञ्चालन भइरहेको छ । यसै अवसरमा रजनिस बस्नेतको जन्मोत्सव तथा राष्ट्रिय वृक्षारोपण दिवसलाई एकसाथ मनाउँदै पार्क परिसरमा करिब एक सय बिरुवा रोपिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर