
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्नसक्ने अवस्था नभएको बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धि संवाद कार्यक्रममा बोल्दै उनले नेपालको हवाई क्षेत्रमा सरकार आफैंले लगानी गरेर अघि बढाउन सक्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् ।
मन्त्री पौडेलले नेपालको हवाई उद्योगलाई सुदृढ नगरी मुलुकको उन्नयन सम्भव नहुने भएकाले सरकारले त्यस क्षेत्रको विकासका लागि सम्बन्धित पक्षसँगको बहसलाई केन्द्रित गरेर अघि बढने योजना बनाएको पनि बताए ।
हवाई उद्योग सुदृढ नभई नेपालको पर्यटन क्षेत्रको विकास नहुने र त्यसो नहुँदा राष्ट्रको उन्नति पनि नहुने अवस्था रहेको मन्त्री पौडेलको निष्कर्ष थियो । उनले इयूको आकाशमा उडानमा लगाइएको प्रतिवन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत, कानुनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढाएको दाबी गरे ।
मन्त्री पौडेलले नेपालको हवाई उद्योगले नै मुलुकमा पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्यलाई बोकेको पनि स्मरण गराए ।
कार्यक्रममा बोल्दै नेपाल वायुसेवा निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले आर्थिक समस्याका कारण नेपालको हवाई उड्डयनको क्षेत्रमा सुरक्षाको प्रश्न समेत उठने गरेको बताए । उनले निगम आफैंले पनि यसको सुरक्षाको अवस्थालाई सुदृढ बनाउनका लागि सरकारसँग पुँजीको लागि निरन्तर माग गर्दै आउनु परेको गुनासो पनि गरे ।
निमित्त महाप्रबन्धक कालाखेतीले स्रोत साधनको उचित व्यवस्था गरेर अघि बढ्दा मात्रै नेपालको हवाई उडानको सुरक्षा पनि भरपर्दो हुने उल्लेख गरे ।