रुपक खड्का/मध्यान्ह
बझाङ : जिल्लाको तलकोट गाउँपालिका र मष्टागाउँपालिकाको मध्यविन्दुमा पर्ने तपोवन तातोपानी धार्मिक दृष्टिकोणले पवित्र मानिन्छ । सेती नदीको किनारमै उम्लिएको जस्तै तातोपानी भएकोले धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएपनि तपोवनको संरक्षणमा स्थानीय सरकार अनविज्ञ छ ।
तपवन क्षेत्रमा बनेका संरचना बाढीले ध्वस्त बनाएका छन् भने बाँकी रहेका सोलार अज्ञात समुहले तोडफोड गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले पर्यटन पबर्द्धन गर्न, आ.व. ०७७/७८ को बजेटमा तपवन धार्मिक क्षेत्र निर्माणका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
डिभिजन वन कार्यलय बझाले तपवन संरक्षण समितिका लागि टेन्डर आह्वान गरी जयलक्ष्मी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । घटीघटाउमा ३० लाख लागतमा जयलक्ष्मी निर्माण सेवाले निर्माण गरेका संरचना हस्तान्तरण गरी प्रयोगमा ल्याउन नपाउँदै अलपत्र अवस्थामा छन् ।
बलौटे जमिन भएकाले जति बलिया संरचना बनाए पनि सेती नदीका किनारमा आरसीसी, ग्याबिन नभएसम्म बनेका संरचना दीगो नहुने निर्माण कम्पनीका संचालक चक्र बोहराले बताए । बर्खा लागेपछि सेती नदीमा जाने बाटो समेत नरहने र तातोपानीको कुण्ड पनि सेतीमै विलय हुने बोहराले बताए । अघिल्लो वर्षमात्र सेती नदीइबाट लिफ्टिङमार्फत पानी तानेर बगरमा बनाएका स्नान गृह, सुइमिङिङ पुल, मन्दिर तथा शौचालय प्रयोगविहीन भएका छन् ।
सेती नदीमा बग्ने चिसोपानीकै किनारमा तातोपानी भएकाले टाढा टाढाबाट भक्तजनहरु तातोपानीको कुण्डमा स्नान गर्न आउने गर्दछ्न् । अलौकिक शक्ति रहेको तपोभूमिको संरक्षण र प्रचारप्रसारमा स्थानीय सरकार उदासीन हुनु 'माल पाएर चाल नपाए' जस्तै भएको छ।
यतिखेर तपोभूमिमा रहेका कुण्डसमेत बचाउन नसक्दा निकट भविश्यमा प्राकृति सम्पदाको नामनिसान मेटिने सक्ने डिभिजन वन कार्यलय बझाङका प्रमुख कर्णबहादुर खातीले बताए । वन क्षेत्राधिकारभित्र परेको तपोवन तातोपानीका लागि प्रदेश सरकारबाट प्राप्त सबै लगानी तपोवनको विस र संरक्षणका लागि खर्च गरिएपनि स्थानीय सरकार र डिभिजन वन कार्यलयबीच सहकार्य नहुँदा मन्दिर परिसरका पुर्वाधारहरु अलपत्र अवस्थामा रहेको खातीले बताए ।
त्यस्तै तलकोट गाउँपालिकाले तपोवन क्षेत्रमा रहेका तातोपानीका कुण्ड बचाउ गर्नका लागि आ.व. २०७७/७८ मा २० लाख रकम खर्च गरिएको थियोे ।
धार्मिक तथा पर्यटकीय गन्तव्य तपोवनमा स्नान गर्नका लागि सुदूरपश्चिमकै प्रसिद्ध मानिए पनि पुर्वाधारको निर्माण गर्न कुनै गुरुयोजना नभई हचुवाका भरमा बनाएका मन्दिर परिसरका संरचनाहरुको सरोकारवालाले कुनै चासो नदिँदा अलपत्र अवस्थामा छन् ।
कुनैपनि समुदायमा रहेका प्राकृतिक सम्पदाको रेखदेख गर्नु स्थानीयको दायित्व हो । तर उल्टो यस क्षेत्रमा राखेका सोलार प्यानल नै तोडफोड हुनु धर्म संस्कृतिमाथिको प्रहार भएको मानिन्छ ।
राज्यको ढुकुटी दोहन गर्न कमजोर भूगोल भएका ठाँउमा संरचना निर्माण गर्ने, उचित सञ्चालन, रेखदेख नगर्ने र अन्तमा पटक–पटक मर्मत गर्ने प्रवृत्तिले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धन भन्दा बजेट पचाउने प्रवृत्ति मौलाएको देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies