
काठमाडौं : पश्चिम नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले नेपाली नागरिकता, जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) र सीमा क्षेत्रमा सुरक्षित जीवनको सुनिश्चितता माग गर्दै काठमाडौंमा आन्दोलन सुरु गरेका छन् ।
लामो समयदेखि नेपाली भूमिमा बसोबास गर्दै आए पनि नागरिकता र जग्गाको स्वामित्वबाट वञ्चित रहेको भन्दै उनीहरूले सोमबारदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरु गरेका हुन् ।
आन्दोलनरत सुस्तावासीले पुस्तौंदेखि नेपाली भूमि जोगाएर बसे पनि आफ्नै देशमा शरणार्थीजस्तै जीवन बिताउनुपरेको गुनासो गरेका छन् । उनीहरूले नागरिकता र लालपुर्जाको अभावले शिक्षा, स्वास्थ्य, रोजगारी तथा अन्य राज्यका सेवा–सुविधाबाट समेत वञ्चित हुनुपरेको बताएका छन् ।

उनीहरूका अनुसार नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति तथा त्यसपछि मन्त्रीस्तरबाट आएका प्रतिक्रियाले सीमा क्षेत्रमा थप तनाव सिर्जना भएको छ । त्यसयता भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट स्थानीयमाथि हुने दबाब, मानसिक तनाव र दुर्व्यवहार बढेको उनीहरूको आरोप छ ।
राज्यका उच्च तहबाट हुने अभिव्यक्तिको प्रत्यक्ष असर आफूहरूले भोग्नुपरेको भन्दै स्थायी समाधानको माग गर्न काठमाडौं आउन बाध्य भएको आन्दोलनकारीहरूको भनाइ छ ।







