
काठमाडौँ : सरकारले भएका सचिवहरुलाई अतिरिक्त समूहमा जगेडामा थन्काएर चार महत्वपूर्ण निकायलाई सचिवविहिन राखेको छ । ६ सचिवलाई गत जेठ २२ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट जिम्मेवारीविहीन राखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा थन्काइएका सचिवहरूमा डा. कृष्णहरि पुष्कर, डा. गोविन्द शर्मा, डा. डिल्लीराम शर्मा, लोकनाथ पौड्याल, हरिप्रसाद मैनाली र डुण्डुराज घिमिरे छन् । सरकारले उनीहरुलाई जगेडामा राख्नुअघि नै विभिन्न निकाय सचिवविही न थिए । तर, रिक्त पदमा सरुवा गर्नुको साटो जगेडामा थन्काइएको हो । बुधबारदेखि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य अनिवार्य अवकाशमा गएपछि ४ निकाय सचिवविहीन भएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र न्याय परिषद्को सचिवालयमा अहिले दरबन्दी भए पनि सचिव छैनन् ।
यीमध्ये सचिव घिमिरेविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको छ । उनी निलम्बनमा छन् । बाँकी रहेका पाँच सचिवलाई भने सरकारले कामविहीन बनाएको छ । उपराष्ट्रपति कार्यालयमा रहेका सचिव डा. कृष्णहरि पुस्कर आफूलाई राजदूत बनाउन सहयोग माग्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई म्यासेज पठाएपछि अतिरिक्त समूहमा तानिएका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर घन्टौसम्म केरकारसमेत गरेको थियो ।