
काठमाडौँ : चितवनको मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको सुख्खा पहिरो हटाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ ।
बुधबार बिहान करिब १०:३० बजे सडकमाथिबाट खसेको पहिरोका कारण केही समय यातायात प्रभावित भएको थियो । डिभिजन सडक कार्यालय भरतपुरले डोजर प्रयोग गरी पहिरो पन्छाएपछि र थप पहिरो खस्ने क्रम रोकिएसँगै सडक खुलाइएको जनाएको छ ।
कार्यालयका अनुसार पहिरोको जोखिम रहेका स्थानमा आवश्यक मेसिन तथा उपकरण तयारी अवस्थामा राखिएको छ ।
हाल उक्त सडक खण्डमा सवारीसाधनको आवागमन नियमित रूपमा सञ्चालन भइरहेको जनाइएको छ ।