२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

खानेपानी आयोजनामा भ्रष्टाचार : तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध मुद्दा

Nada
२०८३ असार १७ गते १६:०५
Shares
खानेपानी आयोजनामा भ्रष्टाचार : तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित पलापु लिफ्ट खानेपानी आयोजनामा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायी समेतलाई विपक्षी बनाई बिहीबार आरोपपत्र दायर गरेको हो ।

ncell

अख्तियारले चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र शिरिस कन्स्ट्रक्सनका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा चम्पादेवी गाउँपालिका वडा नं. १ र २ मा सञ्चालित पलापु लिफ्ट खानेपानी आयोजनाको लागि शिरिस कन्स्ट्रक्सन, भक्तपुरसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले काम नगरेपछि गाउँपालिकाको बैठकले २०७८ माघ २९ गते ठेक्का रद्द गरी बैंक जमानत (पर्फर्मेन्स ग्यारेन्टी) जफत गर्ने निर्णय गरेको थियो ।

तर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीले उक्त निर्णयलाई लुकाएर १८ लाख ५० हजार रुपैयाँ बराबरको बैंक जमानतको म्याद समाप्त नहुन्जेलसम्म कुनै कारबाही नगरेको अनुसन्धानबाट खुलेको छ । जमानतको म्याद २०७८ फागुन १७ मा सकिएपछि मात्र उनले बैंकलाई पत्र लेखेको पाइएको छ, जसका कारण सरकारी रकम जफत हुन सकेन र सार्वजनिक सम्पत्तिमा हानि पुगेको अख्तियारको ठहर छ ।

अख्तियारले विपक्षीहरूबाट १८ लाख ५० हजार रुपैयाँ बिगो असुल गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना तथा कैद सजायको माग गरेको छ । ठेकेदार राईलाई भ्रष्टाचारको मतियार बनेको अभियोगमा मुख्य कसुरदार सरह नै सजाय मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खबर