
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १८ वर्षमुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गरिएको विषयमा स्पष्टीकरण तथा विवरण मागेको छ ।
आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारका आधारमा यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आयोगले रास्वपालाई मिति २०८३ असार १७ गते स्पष्टीकरणसहित आवश्यक जानकारी उपलब्ध गराउन पत्राचार गरेको उल्लेख गरेको छ ।
आयोगका अनुसार प्रारम्भिक अध्ययनबाट १८ वर्षमुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गरिएको भन्ने विषय बालअधिकारसँग सम्बन्धित गम्भीर सरोकारको रूपमा देखिएको छ।
यस सम्बन्धमा आयोगले नेपाल सरकारका सम्बन्धित निकाय र अन्य सरोकारवालासँग समेत आवश्यक विवरण माग गरी अध्ययन अघि बढाएको जनाएको छ ।
आयोगले बालअधिकारको संरक्षण तथा प्रचलित कानुनी व्यवस्था कार्यान्वयनका सन्दर्भमा प्राप्त हुने तथ्य र प्रमाणका आधारमा आवश्यक निर्णय तथा सिफारिस गरिने पनि स्पष्ट पारेको छ। विज्ञप्तिमा यस विषयमा भइरहेको अध्ययन र अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख छ ।