
काठमाडौँ : सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको हो ।
कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो । प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार टोली पुगिसकेको भए पनि गाडी नदीमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन ।
बुलबुले यातायातको गाडीमा १४ जना यात्रु सवार थिए । दुर्घटनास्थलमा तल्लो ढुंगेस्वर, पाल्तडा र राकम कर्णालीबाट पनि प्रहरी परिचालन गरिएको छ ।
उद्धारको लागी सशस्त्र प्रहरीसँग पनि समन्वय गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले बताएको छ । घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तर्फ पर्छ भने जिप्रकाबाट ५० किलोमिटर पश्चिम रहेको छ ।