
दैलेख : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा एक जनाको शव फेला परेको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
बुधबार बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ६०० देखि ७०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल, गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्तडाबाट संयुक्त उद्धार टोली परिचालन गरिएको छ ।
उद्धारका क्रममा दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त शवलाई सडकसम्म ल्याउने प्रयास गरिरहेको छ ।
गाडीमा कति जना यात्रु सवार थिए भन्ने विवरण अझै यकिन हुन नसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । बेपत्ता यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए ।
