२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

चन्द्रबहादुर बुढाथोकी जसले आफ्नो ज्यान गुमाएर १४ यात्रुलाई जीवन दिए

Nada
२०८३ असार १८ गते १७:३४
Shares
चन्द्रबहादुर बुढाथोकी जसले आफ्नो ज्यान गुमाएर १४ यात्रुलाई जीवन दिए

काठमाडौँ : जब मान्छे अन्तिम अवस्थामा हुन्छ, उसले के सोच्छ र के गर्छ  ? धेरै मान्छेले आफूलाई कसरी बचाउने, कसरी जोगाउने भनेरै सोच्ने गर्छन् । 

ncell

तर चितवनमा एक हृदयविदारक तर प्रेरणादायी घटना भएको छ । चितवनको सडकमा एउटा गुडिरहेको माइक्रोबसभित्र बुधबार एउटा यस्तो अकल्पनीय दृश्य देखियो, जहाँ मृत्युको नजिक पुग्दै गरेका एक चालकले आफ्नो प्राण त्याग्नुअघि गाडीमा सवार १४ जना यात्रुको जीवन सुरक्षित गराए । मृत्युको मुखमा पुगिसकेका ति चालकले आफ्नो अन्तिम साससम्म संयमता गुमाएनन् र १४ जना यात्रुको जीवन सुरक्षित बनाएर संसारबाट बिदा भए ।

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ११२४ नम्बरको विद्युतीय माइक्रोबसका चालक बाराका ५५ वर्षीय चन्द्रबहादुर बुढाथोकीका लागि बुधबारको यात्रा जीवनकै अन्तिम यात्रा बन्यो ।  चितवनको रत्ननगरस्थित टिकौली पुल नजिक पुगेपछि उनले पानी पिएका थिए । त्यसको केही समयमै उनको छातीमा अचानक तीव्र पीडा सुरु भयो । 

त्यतिबेला माइक्रोबस गुडिरहेको थियो । पछाडि १४ जना यात्रु सवार थिए । शरीरले साथ छोड्दै गए पनि चालक बुढाथोकीले संयमता गुमाएनन् । उनले गाडीलाई बिस्तारै सडकको सुरक्षित किनारातर्फ मोडे र रत्ननगरस्थित कृष्ण मन्दिर प्रहरी बिट नजिक सुरक्षित रूपमा रोके । गाडी रोकिएलगत्तै उनी स्टेरिङमै ढले । यात्रु र स्थानीयवासीले तत्काल उपचारका लागि अस्पताल पुर्‍याए । तर चिकित्सकले उनलाई मृत घोषणा गरे ।

यदि उनले अन्तिम क्षणमा स्टेरिङको नियन्त्रण गुमाएका भए ठूलो सडक दुर्घटना हुन सक्थ्यो । तर आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि उनले कर्तव्यलाई प्राथमिकता दिए । उनको साहस, धैर्यता र जिम्मेवारीका कारण माइक्रोबसमा सवार सबै १४ जना यात्रु सकुशल रहेका छन् ।चन्द्रबहादुर बुढाथोकी अब हामीमाझ छैनन् । तर मृत्युको मुखमा पुगेका बेला पनि उनले देखाएको जिम्मेवारी र साहसले एउटा ठूलो दुर्घटना टारेको छ । 

उनले क्षणभरका लागि पनि नियन्त्रण गुमाएको भए गाडी पल्टिन सक्थ्यो र ठूलो मानवीय क्षति निम्तिने जोखिम थियो । तर, चालक बुढाथोकीले अन्तिम क्षणसम्म धैर्यता, संयमता र साहस प्रदर्शन गर्दै सवारीसाधनलाई नियन्त्रणमा राख्न सफल भए। उनकै सुझबुझका कारण हुन सक्ने ठूलो दुर्घटना टर्‍यो । र सम्भावित मानवीय क्षति हुन पाएन । 

आफ्नो ज्यानभन्दा यात्रुको सुरक्षालाई प्राथमिकता दिएका चालक चन्द्रबहादुर बुढाथोकीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै स्थानीयवासीले उनको साहस र कर्तव्यनिष्ठाको उच्च प्रशंसा गरेका छन् ।

सम्बन्धित खबर