
काठमाडौँ : सरकारले बालश्रम उन्मूलन, श्रमिकमैत्री कार्यस्थल प्रवर्द्धन तथा स्वदेशमै उद्यमशीलता विकासमा योगदान पुर्याएका स्थानीय तह, औद्योगिक प्रतिष्ठान र उद्यमीलाई सम्मान गरेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले बिहीबार आयोजित कार्यक्रममा बालश्रममुक्त मापदण्ड पूरा गरेका १३ स्थानीय तहलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेको हो । सोही अवसरमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट अभ्यास गरेका ६ औद्योगिक प्रतिष्ठान तथा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम सञ्चालन गरिरहेका ७ जनालाई राष्ट्रिय उद्यमी पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले श्रमको सम्मान, बाल अधिकारको संरक्षण र जिम्मेवार रोजगार संस्कृतिको विकास एक अर्कासँग अन्तरसम्बन्धित विषय भएको बताए । उनले श्रमिकले सुरक्षित वातावरणमा काम गर्न पाउने, बालबालिका विद्यालयमा अध्ययन गर्ने, रोजगारदाताले कानुनको पालना गर्ने र युवाले स्वदेशमै भविष्य देख्ने अवस्था सिर्जना भए मात्रै समृद्ध राष्ट्र निर्माण सम्भव हुने धारणा राखे ।
मन्त्री यादवले बालश्रममुक्त घोषणा गरिएका १३ स्थानीय तहको प्रशंसा गर्दै अन्य स्थानीय तहलाई पनि आवश्यक मापदण्ड पूरा गरी यस्तो अभियानमा सहभागी हुन आग्रह गरे । बालबालिकाको स्थान श्रम बजार नभई विद्यालय र खेलमैदान हुनुपर्ने उल्लेख गर्दै उनले बालश्रम अन्त्यलाई देशव्यापी अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
मन्त्रालयका अनुसार बालश्रममुक्त घोषणा गर्ने स्थानीय तहलाई प्रोत्साहन स्वरूप तीन लाख रुपैयाँ तथा घोषणा सम्पन्न भएपछि थप दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
यसैबीच, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी २२ वटा सूचकका आधारमा छनोट गरिएका छ औद्योगिक प्रतिष्ठानलाई सम्मान गरेको छ । सम्मानित प्रतिष्ठानमा कैलालीको नवजीवन अस्पताल, पूर्वी नवलपरासीको होङ्सी शिवम् सिमेन्ट, रुपन्देहीको अम्बे स्टिल, हेटौँडास्थित एसियन पेन्ट्स, सिराहाको मारुती सिमेन्ट र सुनसरीको मैनावती स्टिल इन्डस्ट्रिज रहेका छन् । आवेदन नपरेकाले कर्णाली प्रदेशबाट कुनै पनि प्रतिष्ठान छनोट हुन नसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्री यादवले सुरक्षित र सम्मानजनक कार्यस्थलले उत्पादनशीलता अभिवृद्धि गर्ने उल्लेख गर्दै श्रमिकमैत्री औद्योगिक संस्कृतिको विकासमा सरकारले निरन्तर सहजीकरण गर्ने बताए ।
कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै रोजगारी सिर्जना गरेका सात जना उद्यमीलाई ‘राष्ट्रिय उद्यमी पुरस्कार’ प्रदान गरिएको छ । मन्त्रालयका अनुसार ७१ आवेदनमध्ये रोजगारी सिर्जना, पुँजी लगानी तथा स्थानीय स्रोत–साधनको उपयोगलगायतका सूचकका आधारमा उनीहरूको छनोट गरिएको हो । उत्कृष्ट उद्यमीलाई एक लाख ५० हजार रुपैयाँ र अन्य पुरस्कृतलाई जनही ७५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
मन्त्री यादवले विदेशमा आर्जन गरेको सीप र अनुभवलाई स्वदेशमै उपयोग गरी उद्यम स्थापना गर्ने व्यक्तिहरूले आर्थिक गतिविधि विस्तार र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यस्ता प्रयासलाई सरकारले आगामी दिनमा पनि प्रोत्साहन गर्दै जाने बताए ।
मन्त्रालयले यस्ता कार्यक्रमले बालश्रम उन्मूलन, सुरक्षित कार्यस्थलको विकास तथा स्वदेशमै उद्यमशीलता विस्तारका लागि स्थानीय तह, निजी क्षेत्र र अन्य सरोकारवालालाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ ।