२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सूचनाको पहुँच बन्द नगर्न सरोकारवालाको जोड

Nada
२०८३ असार १८ गते २१:४०
Shares
सूचनाको पहुँच बन्द नगर्न सरोकारवालाको जोड

ललितपुर : सरोकारवालाले लोकतन्त्रमा नागरिकको सूचनामा पहुँच सीमित गर्न नहुने र निजी सञ्चार माध्यमलाई सरकारी सूचनाबाट वञ्चित गर्ने नीति सच्याउन सरकारसँग माग गरेका छन् ।

ncell

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर महानगरपालिकाको सहयोगमा आयोजना गरेको ‘स्थानीय तथा विकास पत्रकारिता तालिम’को उद्घाटन कार्यक्रममा वक्ताहरूले सरकारी सूचना र विज्ञापनमा सबै सञ्चार माध्यमको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले लोकतन्त्रमा कुन पत्रिकाले सरकारी विज्ञापन पाउने र कुनले नपाउने भन्ने निर्णय राज्यले गर्न नमिल्ने बताए । आफू जनप्रतिनिधि हुनुअघि पत्रकार रहेको स्मरण गर्दै उनले पत्रकारिता चुनौतीपूर्ण पेशा भएको बताए । उनले सरकारले सबै सञ्चार माध्यमलाई समान व्यवहार गर्नुपर्ने धारणा राखे । केन्द्रीय सरकारको पछिल्लो नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै उनले स्थानीय सरकार भने सञ्चार माध्यमप्रति सकारात्मक रहेको बताए ।

नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले सरकारले चैत १८ गते गरेको निर्णय दुर्भाग्यपूर्ण भएको बताए । सरकारी सञ्चार माध्यममा मात्रै सरकारी सूचना प्रकाशन गर्ने नीति लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको भावना विपरीत रहेको उनको भनाइ थियो ।

“सरकारी सञ्चार माध्यममा मात्रै सरकारी सूचना प्रकाशन गर्ने नीति लोकतान्त्रिक मूल्य र मान्यता विपरीत छ,’’ अधिकारीले भने ।

उनले यो निर्णय निजी सञ्चार माध्यमलाई कमजोर बनाउने उद्देश्यले ल्याइएको आरोप लगाए । साथै, उक्त नीतिको विरोधमा नेपाल पत्रकार महासंघले असार २१ गते ललितपुरमा जिल्ला अध्यक्षहरूको भेला बोलाएको जानकारी दिए । सरकार निर्णयबाट पछि नहटे आन्दोलन थप सशक्त बनाइने उनले बताए ।

अधिकारीले सरकारको कदम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको टिप्पणी गरे । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वीरेन्द्र ओलीले स्थानीय सञ्चार माध्यमको संरक्षण गर्न स्थानीय तहले पहल गर्नुपर्ने बताए । वर्तमान सरकार लोकतान्त्रिक मूल्यअनुसार नचलिरहेको उनको आरोप थियो ।

ललितपुर महानगरपालिकाकी प्रेस कोअर्डिनेटर रमा लुइटेलले महासंघ ललितपुर शाखाले स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्दै आएको देख्दा खुशी लागेको बताइन् ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशकी कार्यवाहक अध्यक्ष रोजिना थापाले सञ्चार माध्यमको संरक्षण भए मात्रै पत्रकारको रोजगारी सुरक्षित हुने बताइन् ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले नियमनका नाममा निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्न नहुने बताए ।

“निजी सञ्चार माध्यमले पनि सरकारी विज्ञापन पाउनु अधिकार हो । लोकतन्त्रको रक्षा र नागरिकसम्म सूचना पु¥याउन निजी मिडियाको भूमिका महत्वपूर्ण छ । सरकारले आफ्नो निर्णय सच्याउनुपर्छ,’’ अध्यक्ष कार्कीले भने ।

उनले सरकारले निर्णय नसच्याए पत्रकार महासंघ निर्णायक आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

महासंघ ललितपुरका सहसचिव सौगात मिश्रका अनुसार तीन दिनसम्म सञ्चालन हुने तालिममा स्थानीय तथा विकास पत्रकारितासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइनेछ ।

सम्बन्धित खबर