
काठमाडौं : काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई नगदसहित सम्मान गरेको छ । साथै उत्कृष्ट नतिजा ल्याउने संस्थागत विद्यालयलाई पनि सम्मान गरिएको छ ।
राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनलगायतले शैक्षिक सत्र २०८२ को नतिजाका आधारमा पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महानगरले पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र शैक्षिक वातावरण निर्माणमा निरन्तर लगानी गर्दै आएको बताइन् । उनले विद्यार्थीको क्षमता पहिचान गरी आत्मविश्वास जगाउने जिम्मेवारी शिक्षकको भएकाले शिक्षक पेशालाई थप मर्यादित बनाउन महानगर प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
स्वास्थ्य तथा शिक्षा समितिका संयोजक महर्जनले शिक्षा नै समाजमा रहेको आर्थिक तथा सामाजिक असमानता हटाउने सबैभन्दा प्रभावकारी माध्यम भएकाले महानगरले शिक्षामा लगानी बढाउँदै आएको बताए ।
शिक्षा विभाग प्रमुख नमराज ढकालले २०७९ सालदेखि रोकिएको सम्मान कार्यक्रम यस वर्षदेखि पुनः सुरु गरिएको जानकारी दिँदै आगामी वर्षदेखि कक्षा १२ सम्मका विद्यार्थी, शिक्षक र विद्यालयलाई पनि पुरस्कार तथा सम्मान कार्यक्रममा समेटिने बताए ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा अनिवार्य अवकाश हुने ५० जना शिक्षक–शिक्षिकालाई सम्मान गरिएको थियो । सम्मानित शिक्षकका तर्फबाट नारायण नेपालले महानगरले स्रोत–साधन उपलब्ध गराएर शिक्षा क्षेत्रमा सुधारको अवसर सिर्जना गरेको बताए ।
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउने २९ जना विद्यार्थीलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

तीमध्ये ज्ञानोदय माध्यमिक विद्यालयका २१ जना, विश्वनिकेतन माध्यमिक विद्यालयका ३ जना, रत्नराज्य र तरुण माध्यमिक विद्यालयका २–२ जना तथा शिवपुरी माध्यमिक विद्यालयका १ जना विद्यार्थी रहेका छन् ।
विद्यार्थीका तर्फबाट बोल्दै ज्ञानोदय माध्यमिक विद्यालयका सुदर्शन थापाले महानगरको सहयोगमा विद्यालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रमले उत्कृष्ट नतिजा हासिल गर्न मद्दत पुगेको बताए। तरुण माध्यमिक विद्यालयकी सदीक्षा पौडेलले सीपमूलक तथा नवीन कार्यक्रमले अध्ययनप्रति थप प्रेरित बनाएको अनुभव सुनाइन् ।
यस वर्षको एसइईमा सबै विद्यार्थीलाई ग्रेड प्राप्त गराउन सफल बाल सेवा माध्यमिक विद्यालय (झोँछेँ), बाल व्यावसायिक केन्द्र माध्यमिक विद्यालय (सिफल), श्रम राष्ट्रिय माध्यमिक विद्यालय (कुमारीगाल) र केन्द्रीय बहिरा माध्यमिक विद्यालय (नक्साल) लाई जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।
एसइईमा उत्कृष्ट नतिजा दिलाउने अनिवार्य र ऐच्छिक विषयका ९ जना शिक्षकलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । अंग्रेजी, नेपाली, गणित, विज्ञान तथा ऐच्छिक विषयका उत्कृष्ट शिक्षकहरूलाई नतिजाका आधारमा पुरस्कृत गरिएको महानगरले जनाएको छ ।
एसइईमा सबैभन्दा उच्च औसत स्तरीकृत अंक हासिल गर्ने सामुदायिक विद्यालयतर्फ ज्ञानोदय माध्यमिक विद्यालय प्रथम, तरुण माध्यमिक विद्यालय दोस्रो र विश्वनिकेतन माध्यमिक विद्यालय तेस्रो घोषित भएका छन् । उनीहरूलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
महानगरका अनुसार शिक्षा नियमावलीअनुसार ५० भन्दा बढी विद्यार्थी एसइईमा सहभागी गराई कम्तीमा ८५ प्रतिशत विद्यार्थीलाई ग्रेड प्राप्त गराउने सामुदायिक विद्यालयलाई पुरस्कार प्रदान गरिएको हो ।
संस्थागत विद्यालयतर्फ विजकिड एकेडेमी, बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय र मेरिडियन इन्टरनेशनल स्कूल उत्कृष्ट घोषित हुँदै सम्मानित भएका छन् ।
कार्यक्रममा कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट औसत स्तरीकृत अंक हासिल गर्ने तीन सामुदायिक र तीन संस्थागत विद्यालयलाई पनि सम्मान गरिएको छ ।
सामुदायिकतर्फ विश्वनिकेतन माध्यमिक विद्यालय, पद्मोदय माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । संस्थागततर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, काञ्जीरोवा नेशनल स्कूल र निसर्ग बाटिका स्कूल सम्मानित भएका छन् ।
यस्तै कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा दिलाउने सामुदायिक विद्यालयका विषयगत शिक्षकलाई जनही २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको महानगरपालिकाले जनाएको छ ।