
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले आफनो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन् ।
अध्यक्ष साम्पाङले सरकारले केही गर्ने कोसिस गरेपनि जनताले महसुस हुनेगरी परिणाम दिन नसकेको दाबी गरे । उनले महंगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरुले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराए । सरकारले सय दिनमा गरेका कामहरुको जनताले महशुस गरेजस्तो आफ्नो अनुभूति नरहेको अध्यक्ष साम्पाङको भनाइ छ ।
अध्यक्ष साम्पाङले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटाएको भन्दै सरकारको उक्त निर्णयको समर्थन गरे । उनले दार्चुला जिल्ला विकट रहेकाले त्यहाँको विकासमा सहभागी हुन पाउँदा आफू खुसी भएको पनि बताए ।