
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले शिक्षा क्षेत्रमा विद्यमान राजनीतिकरण र दलीयकरण शिक्षा क्षेत्रको सुधार नहुनुको प्रमुख कारण भएको बताए ।
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली धराशायी भएको उनको भनाइ छ । यद्यपि शिक्षा आफैंमा राजनीतिक मुद्दा भएकाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्नसक्ने भुमिकाबारे गम्भीर बहस आवश्यक रहेको उनले बताए ।
उनले मुलुकको समृद्धि र विकासका शिक्षा क्षेत्रले खेल्नसक्ने भूमिका र योगदानबारे राजनीतिक वृत्तमा पर्याप्त बहस हुनु आवश्यक रहेको बताए ।
उनले सरकारले हतारमा परीक्षाफल प्रकाशित गर्ने र छिटो परिक्षाफल प्रकाशित हुनु ठुलो उपलब्धि ठान्ने सोचले हजारौं विद्यार्थी समस्यामा परेको समेत बताए ।
उनले कक्षा १० र १२ को परीक्षाफलको सन्दर्भमा देखिएका समस्याबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने समेत बताए ।