२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बलभित्रको ‘सेन्सर’ बन्यो निर्णायक

Nada
२०८३ असार २० गते ०६:२५
Shares
बलभित्रको ‘सेन्सर’ बन्यो निर्णायक

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२को खेलमा एउटा यस्तो क्षण आयो, जसलाई बिबिसीका टिप्पणीकार स्टिभ विल्सनले ‘अहिलेसम्मकै सबैभन्दा ठुलो भिएआर निर्णयहरूमध्ये एक’ भने । टोरन्टो स्टेडियममा पोर्चुगल र क्रोएसियाबीच भएको नाटकीय खेलमा फुटबलको इतिहासमै बिरलै देखिने प्रविधिको प्रयोगले खेलको नतिजा मात्र बदलिदिएन, दुई लिजेन्ड खेलाडीको भविष्यमा पनि भिन्न मोड ल्याइदियो ।

ncell

खेलको इन्जुरी समयको १३औं मिनेटमा क्रोएसियाका जोस्को ग्वार्डिओलले गोल गर्दै खेल २–२को बराबरीमा पुर्‍याएको ठानेका थिए । क्रोएसियाली खेलाडी र समर्थकहरू खुसीले उत्साहित भइरहँदा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भने बेन्चमा निरास देखिन्थे । तर यो खुसी धेरै समय टिक्न सकेन ।

भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) जारेड गिलेटले उक्त गोलको जाँच सुरु गरे । मुख्य प्रश्न थियो– के गोल हुनुअघि क्रोएसियाका इगोर मटालोभिचको टाउकोले बल छोएको थियो ? यदि उनले बल छोएको भए त्यो ‘अफसाइड’ हुने निश्चित थियो । टेलिभिजन रिप्लेमा नांगो आँखाले हेर्दा मटालोभिचले बल छोए/नछोएको स्पष्ट भइरहेको थिएन ।

तर यस वर्षको विश्वकपका लागि एडिडासले तयार पारेको ‘ट्रिओन्डा’ नामको विशेष बलले आफ्नो जादु देखायो । यो बलभित्र एउटा विशेष माइक्रोचिप जडान गरिएको छ, जसले बलमा हुने सानोभन्दा सानो स्पर्शलाई पनि तुरुन्तै पहिचान गर्न सक्छ । यस प्रविधिलाई कनेक्टेड बल टेक्नोलोजी भनिन्छ । क्रिकेटमा प्रयोग हुने ‘स्निकोमिटर’ प्रविधिसँग मिल्दोजुल्दो यो प्रविधिले मटालोभिचको टाउको बलमा लाग्दा एक प्रकारको तरंग देखायो ।

रेफ्री एस्पेन एस्कासले मोनिटरमा उक्त डाटा हेरेपछि गोललाई बदर गरिदिए । बलभित्रको सेन्सरले मटालोभिचले बललाई थोरै भए पनि ‘फ्लिक’ गरेको शतप्रतिशत प्रमाणित गरिदियो । फिफाले पछि एक विज्ञप्ति जारी गर्दै प्रविधिले मटालोभिचको स्पर्श पुष्टि गरेको स्पष्ट पारेको थियो ।

यो एउटा प्रविधिको निर्णयले पोर्चुगललाई २–१को जित दिलाउँदै अन्तिम १६मा पुर्‍यायो । यससँगै क्रिस्टियानो रोनाल्डोको आफ्नो देशका लागि विश्वकप जित्ने अन्तिम प्रयास अर्थात् ‘लास्ट डान्स’ अझै केही समय लम्बिएको छ । रोनाल्डोले सोही खेलमा पेनाल्टीमार्फत आफ्नो करियरको पहिलो विश्वकप नकआउट गोलसमेत गरेका थिए ।

अर्कोतर्फ, ४० वर्ष पुग्न लागेका क्रोएसियाली लिजेन्ड लुका मोड्रिचका लागि भने यो निर्णय निकै क्रूर साबित भयो । यो उनको विश्वकप करियरको सम्भवतः अन्तिम खेल भयो । खेलपछि रोनाल्डोले आफ्ना पूर्वरियल म्याड्रिड सहकर्मी मोड्रिचलाई अंकमाल गर्दै सान्त्वना दिएका थिए ।
खेलपछि क्रोएसियाका मुख्य प्रशिक्षक ज्लाट्को डालिचले प्रविधिको अत्यधिक प्रयोगप्रति असन्तुष्टि पोखे । उनले भने, ‘भिएआरले भावनाहरू मार्छ, यसले तपाईंभित्रको सबै कुरा मार्छ । हामी भिएआरको प्रयोगमा धेरै टाढा गइसक्यौं ।’
इंग्ल्यान्डका पूर्वडिफेन्डर म्याट उप्सनले पनि रिप्ले हेर्दा मटालोभिचले बल छोएकोमा आफू विश्वस्त हुन नसकेको बताएका थिए ।
यद्यपि, पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने प्रविधिको बचाउ गर्दै बलभित्रको चिपले निर्णयलाई स्पष्ट पारेको दाबी गरे । उनले भने, ‘बलहरूमा चिप छ र सेन्सरले बल छोएको स्पष्ट देखाएको छ ।’

के हो ‘कनेक्टेड बल टेक्नोलोजी’ ?

विश्व फुटबलको नियामक निकाय फिफाले खेललाई थप आधुनिक, निष्पक्ष र प्रविधिमैत्री बनाउन विभिन्न नयाँ आविष्कार प्रयोगमा ल्याइरहेको छ । यसै सिलसिलामा फिफाको ‘इनोभेटिङ द गेम’ अभियानअन्तर्गत ‘कनेक्टेड बल टेक्नोलोजी’ प्रयोगमा ल्याइएको हो ।

यो प्रविधि फिफाको समग्र ‘फुटबल डाटा इकोसिस्टम’को एउटा अभिन्न अंग हो । यसले खेलको समयमा बलको स्थिति र गतिसम्बन्धी महत्वपूर्ण तथ्यांकहरू संकलन गर्न मद्दत गर्दछ । यो प्रविधि अन्य उच्च प्रविधिहरू जस्तै ‘सेमी–अटोमेटेड अफसाइड टेक्नोलोजी’, ‘गोल–लाइन टेक्नोलोजी’ र ‘अप्टिकल प्लेयर एन्ड बल ट्र्याकिङ’सँग समन्वय गरेर सञ्चालन गरिन्छ ।

यस प्रविधिको मुख्य उद्देश्य खेलका दौरान मैदानमा हुने घटनाहरूको सटिक डाटा प्रदान गर्नु हो । यसले विशेषगरी भिएआर र मैदानका रेफ्रीहरूलाई अफसाइड वा गोल भए–नभएको जस्ता कठिन निर्णय लिन यसले मद्दत गर्दछ । खेलको विश्लेषणका लागि बलको मुभमेन्टसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउँछ । खेलका पलहरूलाई डिजिटल रूपमा पुनः सिर्जना गर्न यो प्रविधि उपयोगी हुन्छ ।

सम्बन्धित खबर