२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सम्पादक समाजको देवीचौरमा पदयात्रा

Nada
२०८३ असार २१ गते ०६:३०
Shares
सम्पादक समाजको देवीचौरमा पदयात्रा

ललितपुर : ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सम्पादक समाजले ललितपुरको ऐतिहासिक देवीचौर क्षेत्रमा पत्रकार पदयात्रा आयोजना गरेको छ ।

ncell

शनिबार ललितपुरको गोदावरी नगरपालिका–७, देवीचौर–देउराली हुँदै बागमती गाउँपालिकामा पर्ने भट्टेडाँडा तथा पाकिस्तान एयरलाइन्स विमान दुर्घटना भएको स्थलसम्म ‘पत्रकार पदयात्रा’ गरिएको थियो ।

May be an image of one or more people

पदयात्रामा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न सञ्चारमाध्यका सम्पादक, प्रकाशक, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । पदयात्राका क्रममा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन प्रमुख अतिथिका रूपमा तथा उपप्रमुख मुना अधिकारी र प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

पदयात्राका क्रममा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै नगरप्रमुख महर्जनले नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा भावी पुस्ताका लागि अमूल्य धरोहर भएकाले यसको संरक्षणमा स्थानीय सरकार, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिकको समान जिम्मेवारी रहेको बताए । 

उपप्रमुख अधिकारीले सम्पदा संरक्षणसम्बन्धी जनचेतना विस्तार गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पत्रकार पदयात्राजस्ता कार्यक्रमले स्थानीय सम्पदाप्रति अपनत्व बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । 

May be an image of one or more people and text

कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुसालले तथ्यमा आधारित स्थलगत पत्रकारितामार्फत पत्रकारिताप्रति समाजमा बढ्दै गएको नकारात्मक धारणा परिवर्तन गर्न सकिने बताए ।

भुसालले प्रत्यक्ष अवलोकन र स्थलगत रिपोर्टिङका आधारमा समाचार सम्प्रेषण गर्न सके पत्रकारिताले पुनः जनविश्वास आर्जन गर्ने विश्वास व्यक्त गरे ।

उनले पत्रकारहरूले देखेका, भोगेका र तथ्यमा आधारित विषयवस्तुलाई समाचारका माध्यमबाट प्रभावकारी रूपमा सार्वजनिक गर्न सके पाठकको पत्रकारिताप्रतिको रुचि बढ्ने बताए । यस्ता समाचारले स्थानीय सम्पदा, संस्कृति र पर्यटकीय सम्भावनाबारे जनचेतना फैलाउने तथा स्थानीय क्षेत्रमा पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने उनको भनाइ थियो ।

May be an image of one or more people and text

पत्रकारिताले समाजलाई सही सूचना दिनुका साथै स्थानीय सम्पदा संरक्षण र सांस्कृतिक पहिचान प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

सम्पादक समाजका अध्यक्ष पुरु रिसालको सभापतित्वमा सम्पन्न कोणसभाको सञ्चालन महासचिव श्याम डोटेलले गरेका थिए । 

पदयात्राका क्रममा सहभागीहरूले देवीचौर क्षेत्रका मठ–मन्दिर, पाटी–पौवा, ढुंगेधारा, पुरातात्त्विक संरचना तथा अन्य स्थानीय सम्पदाको अवलोकन गरेका थिए । सो अवसरमा सम्बन्धित क्षेत्रका जानकारहरूले प्रत्येक सम्पदाको ऐतिहासिक पृष्ठभूमि, धार्मिक महत्व, वर्तमान अवस्था र संरक्षणका चुनौतीबारे जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले सम्पदास्थलहरूको प्रत्यक्ष अवलोकन गरी तस्बिर तथा भिडियो अभिलेखीकरण गरेका थिए ।

No photo description available.

सम्बन्धित खबर