
काठमाडौं : प्रेस मञ्च नेपाल, जिल्ला कार्य समिति सिरहाले सिरहाको भगवानपुर गाउँपालिकामा समाचार संकलनका क्रममा पत्रकारमाथि अवरोध भएको भनिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
आइतबार जारी विज्ञप्तिमा समितिले प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य तथा पत्रकार मनु यादव निरज र पत्रकार कुलानन्द यादव सार्वजनिक सरोकारसँग सम्बन्धित विषयको समाचार संकलनका क्रममा अवरोध, धक्कामुक्की, क्यामेरा बन्द गर्न दबाब तथा कार्यालय प्रवेशमा रोक लगाइएको आरोप सार्वजनिक भएको उल्लेख गरेको छ ।
विज्ञप्तिअनुसार समाचार संकलनका क्रममा गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, उपाध्यक्षका श्रीमान् बुनिया लाल यादव तथा अन्य व्यक्तिहरूको उपस्थितिमा पत्रकारलाई अवरोध गरिएको, क्यामेरा खोस्ने प्रयास गरिएको र गाउँ प्रहरीमार्फत कार्यालयभित्र प्रवेश गर्न नदिइएको दाबी गरिएको छ । संस्थाले यी आरोप गम्भीर प्रकृतिका भएकाले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको जनाएको छ ।
प्रेस मञ्च नेपालले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ । सार्वजनिक निकायमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई अवरोध गर्नु लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन र पारदर्शिताको मर्मविपरीत हुने संस्थाको भनाइ छ ।
विज्ञप्तिमार्फत प्रेस मञ्च नेपालले घटनाको सत्यतथ्य तत्काल निष्पक्ष रूपमा छानबिन गरी सार्वजनिक गर्न, आरोप पुष्टि भए कानुनबमोजिम कारबाही गर्न तथा पत्रकारले निर्भय वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न सक्ने अवस्था सुनिश्चित गर्न नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ ।
साथै, पत्रकारमाथि हुने कुनै पनि प्रकारका दबाब, धम्की वा अवरोध अस्वीकार्य रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि संस्था निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।