
काठमाडौँ : नेपाल प्रहरीले महोत्तरीबाट ४८७.१०८ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित एक ट्रक नियन्त्रणमा लिँदै दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार असार २० गते राति एकडारा गाउँपालिका-१ भटोलीयामा ना ३ ख ६५२१ नम्बरको ट्रक जाँचका क्रममा तीन वटा प्लास्टिकका पोकामा लुकाइराखिएको ४०.३६० किलोग्राम गाँजा बरामद गरिएको थियो । प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा धनकुटाबाट महोत्तरी ल्याइएको खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
सोही अनुसन्धानका आधारमा महोत्तरी गाउँपालिका-४ रानी रतवाडास्थित एक घरमा खोजतलास गर्दा थप ३५ वटा प्लास्टिकका पोकामा प्याक गरिएको ४४६.७४८ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यससँगै बरामद गाँजाको कुल परिमाण ४८७.१०८ किलोग्राम पुगेको छ ।
प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका-६ का २१ वर्षीय ट्रक चालक विपस नेगी र एकडारा गाउँपालिका–१ का २४ वर्षीय साधुराम रिङ्ठालाई पक्राउ गरेको जनाएको छ। बरामद गाँजा, ट्रक तथा पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।