
रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–१ अन्तर्गत घुसुकपुरमा लामो समयदेखि विवादका कारण रोकिएको नाला निर्माण कार्य अन्ततः सम्पन्न भएको छ । स्थानीय जग्गा विवादका कारण वर्षौंदेखि अलपत्र परेको योजना पूरा भएपछि स्थानीयवासीले वर्षायाममा भोग्दै आएको डुबान समस्याबाट राहत मिल्ने विश्वास व्यक्त गरेका छन् ।
स्थानीयका अनुसार नाला निर्माण रोकिँदा प्रत्येक वर्ष वर्षायाममा बस्तीका घर–घरमा पानी पस्ने समस्या थियो । वडा अध्यक्ष विजय यादवको निरन्तर पहल, सम्बन्धित पक्षसँगको समन्वय र विवाद समाधानको प्रयासपछि निर्माण कार्य सम्पन्न भएको उनीहरूको भनाइ छ ।
यसैबीच वडा नं. १ को बैरगनियास्थित माइ भगवती मन्दिर पनि जग्गा विवादका कारण लामो समयसम्म निर्माण हुन सकेको थिएन । स्थानीयका अनुसार वडा अध्यक्ष यादवको पहल र वडास्तरीय बजेट व्यवस्थापनपछि मन्दिर निर्माण कार्य समेत सम्पन्न भएको छ ।
स्थानीय नन्दकिशोर यादवले वडा अध्यक्षको नेतृत्वमा गम्हरियामा ढलान, नाला निर्माण, विद्यालय भवन निर्माण, कृषि सडक विस्तार तथा मठ–मन्दिर निर्माणलगायत विभिन्न पूर्वाधार विकासका काम सम्पन्न भएको बताए ।
स्थानीयवासीले लामो समयदेखि रोकिएका योजनालाई अघि बढाउन तथा विवाद समाधान गरी विकास निर्माणका काम सम्पन्न गराउन वडा अध्यक्ष विजय यादवले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । उनीहरूका अनुसार यस्ता पहलले स्थानीयस्तरमा विकासले गति लिनुका साथै जनताले प्रत्यक्ष रूपमा सुविधा पाउन थालेका छन् ।